शुर्यदर्शन सहकारी पीडित पुगे राज्य व्यवस्था समितिमा, जीवीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ राज्यले हेर्नुपर्ने माग
काठमाडौँ : गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत अनियमितताको विषय संसद्को राज्य व्यवस्था समितिमा पुगेको छ। सूर्यदर्शन सम्बद्ध बचतकर्ताहरूको सङ्घर्ष समितिले संसद्को राज्य व्यवस्था तथा सुशासन समिति पुगेर समितिका सभापति रामहरि खतिवडालाई लिखित निवेदन दिए।
सहकारी पीडितहरूको तर्फबाट संयोजक किरण श्रेष्ठले बुझाएको निवेदनमा सहकारीबाट करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलन भएको र ठगीमा संलग्न सबै पक्राउ नपरेको भन्दै पहलका लागि आग्रह गरिएको छ।
निवेदनमा सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तिसौँ करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको उल्लेख छ। सुर्यदर्शनबाट गोर्खा मिडियामा ऋण आउँदा रवि सो प्रालीको शेयर सदस्य थिए।
‘गोर्खा मिडिया कम्पनी अन्तर्गत ग्यालेक्सी टेलिभिजन जुन वर्तमान अवस्थामा बन्द छ त्यस टेलिभिजनमा हाम्रो तीसौ करोड लगानी भएको देखिन्छ। जो जसले यस विषयमा आर्थिक नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने हो ती सबैजना मौन छन्’ समितिमा बुझाएको निवेदनमा उल्लेख छ।
पीडितहरूले १९ जनालाई किटानी जाहेरी दिएको भए पनि हालसम्म १४ जना पक्राउ नपरेको, २०८० माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक लामिछानेमाथि पनि उजुरी गरिएको भए पनि छानबिन नभएको गुनासो गरेका छन्।
‘अहिलेको यो सरकारलाई यो जीवी राई भन्ने नाम र सुदर्शन भन्ने सहकारी प्रधानमन्त्री, गृहमन्त्रीदेखि परराष्ट्रमन्त्रीको साथै सिङ्गो प्रहरी प्रशासनको टाउको दुखाई बनिरहँदा पनि बाँकी अभियुक्तहरू किन पर्दैनन्?, जीवी राईलाई कसले लुकाइराखेका छन्? जीवीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ राज्यले हेर्नुपर्यो।‘
सूर्यदर्शन सहकारीका पीडितमध्येका एक श्रेष्ठले पीडितको न्यायको लागि राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने कामका बारेमा निवेदन बुझाएको बताए।
‘हामीले निवेदनमा सुशासन समितिले सहकारी समस्याका बारेमा बोल्नुपर्यो। सहकारीका समस्या र सहकारी पीडितका पीडा समेत यही राज्यभित्रकै पीडा भएका कारणले सबैले बुझ्नुपर्छ, व्यवस्थित गर्नुपर्छ भनेका छौँ’ उनले भने।
जीवी राईलाई पक्राउ गरेर निष्पक्ष छानबिन नहुञ्जेलसम्म गृहमन्त्री लामिछानेको नाम सहकारी ठगीमा जोडिरहने उनले बताए।
चैत ८, २०८० बिहीबार १५:०८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।