माओवादीमा विलय हुन खोजेको भन्दै महिन्द्र रायसहित तीन पदाधिकारीलाई पदबाट हटाइयो

माओवादीमा विलय हुन खोजेको भन्दै महिन्द्र रायसहित तीन पदाधिकारीलाई पदबाट हटाइयो

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नेसपा) को छैठौं पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ।

पार्टी विधि, पद्धति र अनुशासन विपरीत माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका गतिविधिमा संलग्न भएकोमा पदमुक्त गर्ने निर्णय गरेको हो।

बैठकले यसअघि गठित पार्टी एकता/ध्रुवीकरण संयोजन समिति भंग गरेको छ गर्दै पार्टीको विधान २०७९ को धारा ६१ बमोजिम प्रस्तुत नेपाल समाजवादी पार्टी नियमावली २०८० लाई छलफल गरी पारित गरेको छ। त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण, प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको नेसपाले जनाएको छ।

बैठकले राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा डा.बाबुराम भट्टराई सर्वसम्मत चयन गरेको छ।

केन्द्रीय कार्यकारिणी समिति सचिवालयमा रूपान्तरण भएको छ भने २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियान सञ्चालन गरिने नेसपाले जनाएको छ। ०८१ असोज महिनामा पार्टीको विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी प्रदेश अधिवेशन आयोजक समिति संयोजकहरू बैठकबाट सर्वसम्मत चयन भएका छन्।

प्रवक्ता कृष्ण प्रसाद शर्माका अनुसार २०८१ कार्तिकदेखि पुससम्म स्थानीय तह र प्रदेशहरूको अधिवेशन सम्पन्न हुनेछन्।

बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली जनलोकपालको गठन लगायत सुशासन, सामाजिक न्याय र समृद्धि सहित जनजीविकाका सवालहरू लक्षित अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ।

चैत ६, २०८० मंगलबार १५:०१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।