बागलुङको सत्यवती मन्दिर जहाँ चिच्याएर वर मागिन्छ, थपिँदै पूर्वाधार

बागलुङको सत्यवती मन्दिर जहाँ चिच्याएर वर मागिन्छ, थपिँदै पूर्वाधार

काठमाडौं : बागलुङको बेरेङ गाउँपालिका ३ मा रहेको सत्यवती मन्दिरमा परम्परादेखि नै पूजाआजा गर्दै आएको पाइन्छ।

त्यहाँ ठूलो स्वरले चिच्याएर वर माग्ने गरिन्छ। यसरी चिच्याएर वर माग्दा मनोकांक्षाा पूरा हुने जनविश्वास छ।

वर्षौं पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो। मन्दिर जीर्ण र अव्यवस्थित थियो। देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन।

भौतिक पूर्वाधार निर्माण भएका थिएनन्। पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ।

पाँच वर्षयता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ। गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ।

धान्य पूर्णिमामा त्यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब दुई हजार धार्मिक पर्यटक यहाँ आउने गर्छन्।

धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रलायले चालु आर्थिक वर्षमा १० लाख र बरेङ गाउँपालिकाले १३ लाख बजेट विनियोजन गरेका छन्।

विनियोजित बजेटबाट पदमार्ग र मन्दिर परिसरमा भवन निर्माण गर्न थालिएको छ। दक्षिण बागलुङको मुख्य धार्मिकस्थल भएको हुँदा यहाँ हालसम्म पालिकाले एक करोड बढी लगानी गरिसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए।

पहिले मन्दिर परिसर निकै साँघुरो हुँदा भक्तजनले सास्ती खेप्नुपरेको भन्दै अहिले चारैतिर फराकिलो र व्यवस्थित बनाएको उनको भनाइ छ। देशभरबाट भक्तजन आउने तर यहाँको सडक अव्यवस्थित हुँदा दुःख पाएकाले अहिले सडकलाई कच्ची भए पनि बाह्रै महिना सञ्चालन हुने बनाएको अध्यक्ष शर्माले बताए।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट चालु आर्थिक वर्षमा मन्दिरबाट मैदानसम्मको करिब एक सय १२ मिटर पक्की पदमार्ग निर्माण गरेको निर्माण समितिका अध्यक्ष होमबहादुर श्रीसले बताए।

उद्योग तथा पर्यटन कार्यालय बागलुङसँग सम्झौता गरेर मङ्सिर अन्तिम साता नै पदमार्ग निर्माण गरिसकेको उनको भनाइ छ। भौतिक संरचना थपिएपछि सत्यवती मन्दिरको मुहार नै फेरिएको श्रीस बताउँछन्।

मन्दिर व्यवस्थित भएपछि भक्तजन आगमनमा वृद्धि भएको उनको भनाइ छ। विशेषगरी गैँडाकोट, पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बुटवल, म्याग्दी, काठमाडौँ, धनकुटा, नेपालगञ्ज र बागलुङका विभिन्न स्थानलगायतका ठाउँबाट तिर्थयात्री आउने उनले बताए।

४ चैत, २०८०, ११:४१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।