सुन तस्करीमा फरार अभियुक्त जीवनको दाबी- ‘एआईजी ज्ञवाली र डिएसपीले मागेको पैसा नदिँदा मलाई फसाइयो, म फर्कँदैछु’ (भिडियोसहित)

सुन तस्करीमा फरार अभियुक्त जीवनको दाबी- ‘एआईजी ज्ञवाली र डिएसपीले मागेको पैसा नदिँदा मलाई फसाइयो, म फर्कँदैछु’ (भिडियोसहित)

काठमाडौं : सुन तस्करीमा अभियुक्त बने लगत्तै फरार रहेका जीवन चलाउनेले सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पाँच घण्टा भिडियोसहितको बयान लिएर पछि ६० लाख पैसा मागेको दाबी गरेका छन्।

दावा लामासँगको सम्बन्धको बारेमा सीआइबीले बयानका लागि बोलाएर करिब पाँच घण्टा बयान लिएको र बयानपछि केही नभनी छाडेको उनको दाबी छ।

उकेरासँग भिडियो कुराकानी गर्दै उनले एआइजी श्याम ज्ञवाली आइजीपी हुने दौडमा रहेको बेलामा आफूसँग दुई करोड पैसा मागेको र पैसा नदिएपछि रिसाएको दाबी गरे। ज्ञवालीले पछि पैसा फिर्ता गर्नेगरि पैसा मागेको उनको दाबी छ।

‘श्याम ज्ञवालीले आइजीपी बन्नको लागि २ करोड पैसा चाहियो भनेका थिए। उनले पैसा माग्न आफ्नै घरमा बोलाएका थिए,’ उनले दाबी गरे, ‘म गएको थिएँ। मैले पैसा नदिएपछि उहाँ रिसाउनुभयो। सुन तस्करीमा मेरो नाम मुछ्ने नै उहाँ हो।’

सुन तस्करीबारे अनुसन्धान गर्न सरकारले गठन गरेको उच्चस्तरीय आयोगलाई समेत आफूले बयान दिँदा ती विषय उल्लेख गरेको बताए। उनले दावासँगको सम्बन्धबारे बयान लिँदा पनि केही नदेखिएपछि छाडेको र पछि सीआईबीका डीएसपीले दुर्गा दाहालले ६० लाख मागेको दाबी गरेका छन्।

‘दुर्गा दाहाल सहितको टोलीलाई सोह्रखुट्टेमा फेरि भेट भयो। रक्सी खाएको ६० हजारको बिल तिराए। उसले (दुर्गा) मलाई ६० लाख माग्यो। म सँग त त्यत्रो पैसा थिएन। उसले ३० लाख दिनु भन्यो। त्यो पनि सक्दिन भनेको हो’, उनले दाबी गरेका छन्।

उनले दाहाल बाहेक सीआईबीका अन्य कसैले पैसा नमागेको दाबी समेत गरेका छन्।

दावासँग खाद्यान्नको कारोबारको क्रममा चिनजान भएको र ह्वाट्सएपमा भएको कुराकानी त्यही विषयमा भएको उनको दाबी छ। कुराकानीमा दावाले तिब्बतमा सुनको कारोबार गर्ने ठूला व्यापारी छन् भनेको तर आफूले चासो नदिएको समेत उनको भनाइ छ।

‘दावाबारे मैले प्रहरीलाई नै कति सूचना दिएको छु। म आफैँ सुनको कारोबार गर्ने भए किन सूचना दिन्थेँ र’, उनले दाबी गरे।

अमेरिकामा रहेका सुबु केसीसँग व्यक्तिगत लेनदेनको क्रममा कारोबार भएको र पूर्व आईजीपी सर्वेन्द्र खनालसँग दुई चार पटक सार्वजनिक कार्यक्रममा भेटघाट भए पनि कुराकानी भने नभएको उनको दाबी छ।

दुई करोड मागेको चलाउनेले गरेको दाबीबारे उकेराले एआइजी श्याम ज्ञवालीसँग जिज्ञासा राखेको थियो। उनले भने- ‘फरार रहेको अभियुक्तले भनेको पनि पत्याउने?’

उनीसँग भएको संवादको सम्पादित अंश
म खाद्यान्नको व्यवसाय गर्छु। यही क्रममा दावा(सुन तस्करीमा पुर्पक्षका लागि थुनामा रहेका दावा लामा) भन्ने मान्छेसँग भेट भएको थियो। चीनमा  जिरा निर्यात गर्नेबारे उसले कुरा गरेको थियो। जिरा लियो पनि तर पैसा दिएको छैन।

उसले चीनको तिब्बतका ठूला लगानीकर्ता छन्, सुनको काम गर्ने, अनि हाइड्रोपावरमा पनि काम गर्ने नेपालमा काम गर्न चाहेका छन् भनेको थियो। मैले नेपालमा उद्योग खोल्छन् भने ठिकै त छ ल्याएर खोल भनेको हो। एफडीआई (वैदेशिक लगानी) मार्फत ल्याऊ भनेको हो।

क्लोजिङको बेलामा मलाई पैसा चाहिएको थियो। दावालाई ५ करोड पैसा मिलाइदे भनेर भनेको थिएँ। उसले २४ प्रतिशत ब्याजसँगै ५ प्रतिशत कमिसन मागेको थियो। 

सुन तस्करीमा मेरो नाम जोडिएपछि मैले सीआईबीमा गएर बयान पनि दिएको हुँ। सीआईबीले दावासँग भएको कुराकानीबारे सोध्यो। अनि मैले सबै भनेँ। दावासँग जे-जे कुरा भएको थियो सबै भने। दुर्गा दाहाल(डिएसपी) र सञ्जय थापा(एसपी) को अघि सीआईबीमा ४-५ घण्टा बसेर बयान दिएको हो। भिडियो बयानै लिएका थिए।

दुर्गा दाहाल सहितको टोलीलाई सोह्रखुट्टेमा फेरि भेट भयो। रक्सी खाएको ६० हजारको बिल तिराए। उस(दुर्गा) ले मलाई ६० लाख माग्यो। म सँग त त्यत्रो पैसा थिएन। उसले ३० लाख दिनु भन्यो। त्यो पनि सक्दिन भनेको हो।

मेरो एउटा साथीलाई श्याम ज्ञवालीले (एआईजी)ले बोलाएर जीवनलाई फसाउँदैछन् भाग् भन्नु भनेर सन्देश पठाएपछि म भारत आएको हो। साथीलाई भनेर एकातिर मलाई भगाउने अनि उता जीवन चलाउनेलाई सीआईबीका प्रहरीले भगाए भनेर हल्ला गराए। म अहिले पनि भारतमै छु।

श्याम ज्ञवालीले आईजीपी बन्नको लागि दुई करोड पैसा चाहियो भनेका थिए। उनले पैसा माग्न आफ्नै घरमा बोलाएका थिए। म गएको थिएँ। पछि पैसा फिर्ता दिउँला अहिले चाहियो भनेका थिए। मैले पैसा नदिएपछि उहाँ रिसाउनुभयो। सुन तस्करीमा मेरो नाम मुछ्ने नै उहाँ हो।

उहाँ (श्याम ज्ञवाली) अहिले पनि दुबई धाइरहनुभएको छ। व्यापारी महेन्द्र सिंहको टोलीलाई उहाँले भेटिरहनुभएको छ। बिट क्ववाइन लगायतका कारोबारीहरूसँग किन भेटिरहेको हो,  पैसा मागिरहनु भएको छ।

ममाथि भएको यो सबै प्रोपागण्डा हो। अब म नेपाल आएर अदालतमा सरेन्डर गर्न तयार छु। 

२ चैत, २०८०, १९:२८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।