फ्लपको दौडमा फिल्म काँडेतार, रंगेलीको शोज् अगस्त्यले होल्ड गर्‍यो, उपहारको शोज् सङ्ख्या घट्दै

फ्लपको दौडमा फिल्म काँडेतार, रंगेलीको शोज् अगस्त्यले होल्ड गर्‍यो, उपहारको शोज् सङ्ख्या घट्दै

काठमाडौँ : शुक्रवार एकै पटक तीन फिल्म रिलिज भए, 'उपहार', 'रंगेली' अनि 'काँडेतार'। गत हप्ता रिलिज भएको अगस्त्य पनि हलमै थियो। अजय देवगनको अभिनय रहेको सैतान पनि थपियो।

सैतान, कुङफु पान्डा लगायतका फिल्म त भइगए, अहिले हलमा चार नेपाली फिल्म दर्शक तान्न एक अर्कासँग प्रतिस्पर्धामा छन्। दोस्रो हप्तामा चलिरहेको अगस्त्यले शुक्रवार रिलिज भएका तीनै फिल्मलाई शोज् टाइममा टक्कर दिइराखेको छ। काँडेतार रिलिज भएको दोस्रो दिनमै कमजोर बनिसक्यो। रंगेली र उपहार शोज्हरु बढाउन प्रतिस्पर्धामा भए पनि बढ्नुको साटो घटिरहेको देखिन्छ।

रिलिजको दिन ७० भन्दा बढी शोज् पाएको रंगेली शनिवार आइपुग्दा ६० हाराहारीमा पुग्यो। आइतबार यसको शोज् ४० तिर धकेलिएको देखिन्छ।

उपहारले पनि पहिलो दिन ७० बढी शोज् पाएको थियो। तर शनिवार शोज् सङ्ख्या ४० हाराहारीमा पुग्यो। आइतबार यसको शोज् सङ्ख्या ४० आसपासै देखिन्छ।

दोस्रो हप्तामा प्रदर्शन भइरहेको अगस्त्यको शोज् सङ्ख्या ३० मा आएर टक्क बसेको देखिन्छ। शनिवार यसले ३२ शोज् पाएको देखिन्छ भन् आइतबार ३१ शोज् छुट्टाइएको छ।

विधाको आधारमा रंगेली र अगस्त्य एकै विधाको फिल्म हो। दुवैको पृष्ठभूमि तराइ र तराइमा हुने अपराध नै हो।

अगस्त्यले कथामा अन्तर्देशीय अपराध र सस्पेन्स घुसाएको छ। रंगेलीले अपराधमा संलग्न समूहबीचको प्रतिस्पर्धालाई मूल कथा बनाएको छ।

अगस्त्यमा सौगात मल्ल, नाजिर हुसेन छन् भने रंगेलीमा दयाहाङ राई, अर्पण थापा लगायतका कलाकारहरू छन्।

यसले रंगेलीको शोज् अगस्त्यले राम्रैसँग होल्ड गरिएको देखिन्छ। क्यामरा वर्क र कलाकारहरूको उम्दा अभिनय रहेको अगस्त्य कमजोर पटकथा अनि सस्पेन्सका नाममा निर्देशकले गाँठो पारेको कथा सहज रूपमा फुकाउन नसक्दा समीक्षामा उत्तीर्ण हुन नसके पनि दोस्रो हप्तामा पाइरहेको शोज् सङ्ख्याले लगानीकर्ताको लगानी सुरक्षित हुने देखिन्छ।

रेखा थापा, पूजा शर्मा लगायतका कलाकारको अभिनय रहेको उपहारको घट्दो शोज् सङ्ख्याले हलमा दर्शकको अकुपेन्सी सकारात्मक देखिएन। रेखा अमेरिकामा छिन्। यता पूजाले मात्र प्रचारको बिँडो थामेकी छिन्।

नेपाल-भारतको सीमा समस्यामा बनेको फिल्म काँडेतारबारे नबल खड्काले जति दाबी गरे पनि प्रदर्शनको दोस्रो दिनसम्मको नतिजा हेर्दा फ्लप हुने दौडमा लागिसकेको देखिन्छ। फिल्मलाई दर्शकको माउथ पब्लिसिटीले मात्र उठाउन सक्छ।

फागुन २६, २०८० शनिबार १३:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।