मोदीको चुनावकेन्द्रीत योजना : महिला दिवसमा एक सयले घट्यो एलपीजीको मूल्य

मोदीको चुनावकेन्द्रीत योजना : महिला दिवसमा एक सयले घट्यो एलपीजीको मूल्य

एजेन्सी : अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतको केन्द्रीय सरकारले खाना पकाउने एलपीजीको मूल्य घटाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्सबाट ट्वीट गर्दै सरकारले एलपीजी सिलिन्डरको मूल्यमा १०० रुपैयाँ छुट दिने निर्णय गरेको बताएका छन्।

उनले लेखेका छन्, ‘आज महिला दिवसको अवसरमा हामीले ग्यास सिलिन्डरको मूल्यमा १०० रुपैयाँ छुट दिने ठूलो निर्णय गरेका छौँ। यसले महिला शक्तिको जीवन सहज मात्रै होइन करोडौं परिवारको आर्थिक बोझ पनि कम गर्नेछ। यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ, जसले सम्पूर्ण परिवारको स्वास्थ्य सुधार गर्नेछ।’

प्रधानमन्त्रीले आफ्नो ट्विटमा भनेका छन्, ‘यो निर्णय महिला सशक्तिकरण र उनीहरूको जीवन सहज बनाउने हाम्रो प्रतिबद्धता अनुरूप छ।’

दुई दिनअघि बुधबार मात्रै सीएनजीको मूल्य घटाउने घोषणा गरिएको थियो। बुधबार प्रतिकिलो २.५ रुपैयाँ घटाएपछि दिल्लीमा सीएनजीको मूल्य ७४.०९ रुपैयाँमा झरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई महिला दिवसको अवसरमा घटाएको भने पनि यसले उनलाई चुनावी एजेन्डा बनाइरहेको बुझ्न कठिन छैन। भारतमा आगामी मे २४ मा लोकसभा निर्वाचन हुँदैछ।

२५ फागुन, २०८०, १०:४४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।