बिहीबारको संसद : कांग्रेसले प्रचण्डलाई ‘राजनीतिक बेइमान’ भन्दा माओवादी सांसदले चित्त दुखाए

बिहीबारको संसद : कांग्रेसले प्रचण्डलाई ‘राजनीतिक बेइमान’ भन्दा माओवादी सांसदले चित्त दुखाए

काठमाडौँ : प्रतिपक्षमा रहेका एमालेसहितका सांसदहरूले पटक-पटक उठाएको प्रश्नको जवाफ दिन बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभामा जवाफ दिन प्रतिनिधि सभामा उपस्थित हुँदा प्रश्न सोध्नेहरू उत्तर दिने भूमिकामा पुगिसकेका थिए।

सरकारमा रहेका चार मन्त्रीको राजीनामाको विषय उठाउँदै एमाले, रास्वपाका सांसदहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका थिए। प्रधानमन्त्रीलाई सदनमा आउन सभामुखले पटक-पटक रुलिङ गरे पनि उनी नआएपछि मिति नै तोकेका थिए।

बिहीबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखले सांसदहरूलाई एक मिनेट बोल्ने समय तोक्दै शून्य समय सुरु गरेका थिए। शून्य समय सुरु भए लगत्तै राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देन उठे।

उनी उठेको देखेपछि सभामुखले ‘विशेष के थियो होला?’ भन्दै बोल्न समय दिए लगत्तै उनले सोधे’ सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेकाले प्रधानमन्त्रीको सम्बोधन आउँछ या आउँदैन?’

लिङ्देनको प्रश्नपछि सभामुख देवराज घिमिरेले शून्य समय सकिएपछि प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने जानकारी दिएका थिए।

संसद्मा सधैँ आक्रामक देखिने एमाले सांसद महेश बर्तौला बिहीबार एमालेको सचेतक नभई मुख्य सचेतकको भूमिकामा सम्बोधन गरेका थिए। प्रधानमन्त्रीलाई कडा प्रश्न गर्दै आएका उनी प्रतिपक्षीबाट सत्तापक्षको रोहमा पुगिसकेका थिए।

आसन मात्र बदलिएन, उनको बोली पनि बदलियो। नरम शैलीमा उनले एमालेसहितको सहभागितामा सरकार बनेको प्रसङ्ग निकाल्दै आसन र भूमिका फेरिए पनि सरकारलाई लुलो, कमजोर हुने छुट नभएको बताए।

‘काँध फेर्ने छुट छैन। भारीले थिचिने छुट छैन‘ उनले भने

माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारलाई शुभकामना दिएर लाल सलामको अभिवादन ठोके। अन्य सांसदहरूले पनि नयाँ मन्त्रीहरूलाई शुभकामना दिँदै आ-आफ्नो क्षेत्रको समस्या उठाए। शून्य समयको अन्तिममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले महिला खेलाडीहरूले पुरुषको तुलनामा धेरै उपलब्धि हासिल गरेको तर सरकारले बनाउने बजेटमा महिला खेलाडीहरूका लागि आवश्यकता अनुसार बजेट नछुट्टाएको भन्दै उपलब्धिमूलक बजेट छुट्याउन माग गरे।

अनि पालो आयो प्रधानमन्त्री प्रचण्डको।

प्रचण्ड हिजो प्रतिपक्षमा रहेर एमाले र रास्वपा लगायतका दलका सांसदहरूले उठाएको प्रश्नको उत्तर दिन आए। तर उत्तर माग्नेहरू नै उनको नेतृत्वमा बनेको सरकारको सहयात्री भइसकेका थिए। उनीमाथि प्रश्न उठ्दा प्रतिवाद गर्ने सांसदहरू उनलाई प्रश्न गर्ने भूमिकामा पुगिसकेका थिए।

हिजो प्रश्न सोध्नेहरू आज उनको उत्तर सुन्ने मुडमा थिएनन्। तर सभामुखबाट रुलिङ भएकाले उनले जवाफ दिए।

एमाले र रास्वपाले बालकुमारी घटनामा दोषी देखिएका प्रकाश ज्वालालाई बर्खास्त गर्न माग गरेका थिए। नयाँ मन्त्रिपरिषदमा एकीकृत समाजवादी सहभागी भए पनि ज्वाला मन्त्री भएनन्। प्रचण्डले सरकार पुनर्गठनसँगै सो माग असान्दर्भिक भइसकेको बताए।

उनले आफू संसदप्रति उत्तरदायी नभएको आरोप लगाएको तर आफू उत्तरदायी रहेको प्रस्टीकरण दिए। मिटर ब्याजको समस्या समाधानमा सरकार गम्भीर रहेको, सहकारीसँग जोडिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा गठित कार्यदलले दिएका सुझाव कार्यान्वयन भइरहेका बताए।

लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामा सहभागी हुने चर्चा सत्य नभएको र सम्मेलन नै स्थगित भइसकेको बताउँदै उनले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको बताए।

रुसी सेनामा भर्ना भएका नेपालीबारे उनले रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रुसी सरकारलाई गराइ सकिएको, रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक दबाब बढाइएको, रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउने, युक्रेनी सेनाले बन्धक बनाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीहरूसँग विभिन्न तहमा कुराकानी भइरहेको बताएर उनी राजनीतिक विषयमा प्रवेश गरे।

कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मतका लागि सदनमा विस्तृतमा आफ्नो पक्ष राख्न बाँकी रहेको भन्दै राजनीतिक समीकरण बदलिएकोबारे प्रस्टीकरण राखेका थिए।

उनले गठबन्धन बदलिनुका कारणहरूबारे पहिला जे-जे दाबी गरेका थिए संसद्मा त्यही दाबी गरे। निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाए अनुसार कांग्रेसबाट सहयोग नभएको, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हटेको, कोशी प्रदेशमा कांग्रेसको एउटा समूहले विद्रोह गर्दा दण्डित हुनुपर्नेमा पुरस्कृत भएको र राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित गरेको तर्क गरे।

 कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ गठबन्धनको निन्दा सुरु भएको, निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक नभएको भन्दै उनले यसलाई समेत गठबन्धन बदल्नुको कारण रहेको दाबी गरे।

‘कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ। आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु’ उनले भने।

 ‘सरकार पुनर्गठन भए पनि प्रधानमन्त्री उही भएको हेक्का राख्नु’ भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई धन्यवाद दिएर सम्बोधन सक्काए।

 प्रतिनिधि सभामा रहेका दलका प्रतिनिधिले बोल्ने पालो शुरु हुँदा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक रोस्टममा पुगे। करिब ४० मिनेट बोलेका उनको सम्बोधन शालीन त थियो नै तर शब्दहरू निकै आक्रामक।

उनले सरकारमा रहँदा कांग्रेसले सत्ता गठबन्धनको मूल्य र मान्यता पूर्णरुपमा पालना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको मूल्य र मान्यता भत्काएर एकतर्फी रुपले अविश्वसनीय ढङ्गले गठबन्धन तोडेको बताए।

उनले संसदमै नयाँ गठबन्धन बनाउनुमा कांग्रेसका जे जति कारणहरू खुलाएका थिए लेखकले ती सबैलाई कपोलकल्पित कथाको संज्ञा दिँदै ‘राजनीतिक बेइमानी’ गरेको गम्भीर आक्षेप लगाए।

‘राजनीतिक रूपमा इमान भएन। इमान नभएकाले बेइमान भनेको हो’ उनले बेइमान भनिरहँदा प्रचण्ड अनुहार बिगारेर सुनिरहेका थिए भने एमाले सांसद विष्णु पौडेल कांग्रेस सांसद लेखकको सम्बोधनको बुँदा टिपिरहेका थिए।

उनले सम्बोधनमा प्रचण्डले नेपाली कांग्रेसप्रति विश्वासघात गरेको, विना कुनै कारण विना कुनै औचित्य, छलफलबाट समाधान हुनसक्ने कुरालाई बढाएर-चढाएर केही मन्त्रीको भागमा आफ्ना असफलता बोकाएर भागेको आरोप लगाएका थिए।

उनले भने ‘काल्पनिक र कपोलकल्पित कुरा गरेर राजनीतिमा झुक्क्याउन सकिन्न।'

उनले संसद्मा एमालेसहितको गठबन्धन गर्दा प्रधानमन्त्री प्रचण्डसहित चार नेताले हस्ताक्षर गरेको चार बुँदे सहमति पत्र पढ्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। चार बुँदामा सुशासन लगायत कायम गर्न नयाँ गठबन्धन बनेको उल्लेख गरेको भन्दै उनले प्रश्न सोधे 'यो १४ महिना सुशासन कायम भएन भने कसले गरेन? प्रधानमन्त्री को थियो?’

सहमतिमा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने उल्लेख गरेकोमा उनी थप आक्रोशित भए। एमालेको विरोधका कारण सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक रोकियो थियो। अहिले गठबन्धनमा माओवादीले एमालेसँगै सहकार्य गरेको छ।

संसद्मा सांसद लेखकले 'सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कसले रोक्यो?’ भन्ने प्रश्न गर्दै चार बुँदे सहमति प्रधानमन्त्री प्रचण्डको १४ महिना प्रधानमन्त्रीकालको अक्षमता,अयोग्यता र अकर्मण्यताको प्रमाण पत्र भएको बताएका थिए।

उनले प्रचण्डले कांग्रेसको महासमितिमा उठेका विषय र पेस भएका प्रस्तावहरूलाई कारण देखाएको विषयबारे बोल्दै पार्टीको आन्तरिक विषयमा प्रवेश गरेको भन्दै प्रश्न गरेका थिए' हिजो तपाईँहरूले कांग्रेसलाई दुस्मन लेखेको हैन? त्यो बेलामा हामीले चित्त दुखाएका थिएनौ त।'

उनले रोस्टमबाटै एमालेको राजनीतिक दस्तावेजमा प्रचण्डलाई धोकेबाज, अविश्वसनीय चरित्र भएको नेता भनेर लेखेका विषय पढेर सुनाउँदा एमाले अध्यक्ष ओली मुसुमुसु हाँसिरहेका थिए।

उनले संसद्मा बोल्दै पटक-पटक प्रचण्डबाट राजनीतिक बेइमानी भएको बताइरहे। सायरी सुनाए, अंग्रेजी भनाई ल्याए। जाँदा जाँदै उनले प्रचण्डलाई प्रश्न सोधे 'अब धोका दिन बाँकी कोही रहेनन्। धोका दिएकाहरू एकै ठाउँ भयो भने तपाइ कहाँ पुग्नुहोला!'

लेखकपछि पालो आयो विष्णु पौडेलको। उनले लेखकको सम्बोधनप्रति कटाक्ष गर्दै त्यसले कांग्रेसलाई कति गहिरो घाउ लागेछ भन्ने अभिव्यक्त’ भन्दै एमाले त्यो घाउमा मलमपट्टि गर्न तयार रहेको बताएका थिए।

‘यो तहको पीडा, यो तहको छटपटी अभिव्यक्त गर्न आवश्यक थिएन,’ उनले भने 'एउटा नेताको मनमा त यति पीडा छ भने कांग्रेसीहरुको मनमा कति धेरै पीडा होला।'

उनले सरकारमा सहभागी दलहरूको नाम फटाफट भन्दा माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी नभनी समाजवादी केन्द्र भनेका थिए।

अनि पालो आयो माओवादी सांसद देवेन्द्र पौडेलको। पौडेलले सम्बोधनमा कांग्रेसले संसद्मा प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक बेइमान भनेकोमा चित्त दुखाउँदै ‘गिरिजाप्रसाद कोइरालाले यो देश तपाइको काँधमा’ भनेर प्रचण्डलाई जिम्मा लगाएको दाबी गरे।

उनको दाबी थियो'गिरिजाप्रसाद कोइरालाले दिएको जिम्मेवारी प्रधानमन्त्रीले पुरा गरेका हुन्।'

उनले हिजो पनि सहकार्य भएको र भोलिका दिनमा पनि सहकार्य गर्न बाँकी रहेको भन्दै कांग्रेसलाई भने'अहिले नै अत्तालिनु हुन्न। प्रधानमन्त्रीको चरित्र चित्रण राम्रो भएन।'

फागुन २४, २०८० बिहीबार १८:२८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।