सत्ता समीकरण फेरिएपछि पहिलो पटक संघीय संसद्को दुवै सदनका बैठक बस्दै

सत्ता समीकरण फेरिएपछि पहिलो पटक संघीय संसद्को दुवै सदनका बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं : संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। मन्त्रिपरिषद् पुनर्गठनपछि पहिलो पटक संघीय संसद्को दुवै सदनको बैठक बस्न लागेको हो।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेलाई तोकिँदा राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १७ मिनेटको लागि तोकिएको संघीय संसद् सचिवालयले जनाएको छ।

सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ।

यस्तै महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ‘महिला तथा साामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी राष्ट्रिय सभामा पनि आज राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको व्उहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको चौसट्ठिऔं वार्षिक प्रतिवेदन समासमक्ष पेश गर्ने सम्भावित कार्यसूची छ।

यसका अलावा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराउने कार्यसूची छ।

यसअघि फागुन २१ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक तोकिएको भए पनि सत्ता समीकरण फेरिएसँगै बैठक दुई दिनको लागि स्थगित गरिएको थियो।

फागुन २४, २०८० बिहीबार ०७:२१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।