नयाँ बन्ने गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने

नयाँ बन्ने गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी सहभागी हुने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) नयाँ बन्ने सत्ता गठबन्धनमा सामेल हुने भएको छ।

सोमबार बालुवाटार बैठकमा सहभागी भएपछि नाउपाका अध्यक्ष रेशमलाल चौधरीले आफूहरू नयाँ सरकारमा जान सकारात्मक रहेको बताए।

उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ। कुन-कुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्लाएक्लै बोलाएर छलफल गर्ने प्रकृया जारी छ।’

अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरूमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए। उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकाले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्व रहने बताए।

अध्यक्ष चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने बताए।

‘अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक छौं। विगतमा हामीले पटक पटक धेरै कुराबाट धोका खाएका छौं, धेरै कुराहरूमा हामीलाई समावेश गरिएको छैन। तर, अबको गठबन्धनमा हामी सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र जान्छौं,’ चौधरीले भने।

फागुन २१, २०८० सोमबार १४:१४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।