सत्ता गठबन्धनमा माओवादी-कांग्रेसबीच गम्भीर खटपट, जस्तोसुकै परिस्थितिका लागि तयार रहन मन्त्रीलाई देउवाको निर्देशन

सत्ता गठबन्धनमा माओवादी-कांग्रेसबीच गम्भीर खटपट, जस्तोसुकै परिस्थितिका लागि तयार रहन मन्त्रीलाई देउवाको निर्देशन

काठमाडौँ : राष्ट्रपतिको निर्वाचनको बहानामा एमालेसँगको गठबन्धन बनेर कांग्रेससँग बनेको सत्ता समझदारी राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन अगाडि धरापमा परेको छ। राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै माओवादी केन्द्रले पुस १० एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपासहितको दलसँग मिलेर सरकारको नेतृत्व गरे पनि पछि राष्ट्रपति एमालेलाई दिन नसक्ने भन्दै गठबन्धन बदलेर फागुन १२ कांग्रेससहितको सरकार बनाएका थिए।

राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिने सहमती गर्दै गठबन्धन गरेर निर्वाचनमा होमिएको माओवादी केन्द्र अहिले राष्ट्रिय सभा अध्यक्ष अरूलाई दिन नसकिने भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग छलफलमा जुटेका छन्।

प्रधानमन्त्री प्रचण्डले आइतबार पुस १० गते एमालेको पहलमा बनेको गठबन्धन प्रमुख दलहरू एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेतृत्वसँग तीन घण्टा बढी छलफल गरे।

आइतबार एमाले अध्यक्ष केपी ‌ओलीसँग प्रचण्डले बिहान छलफल गरेर पुन बेलुका बालुवाटार बोलाएका थिए। ‌ओलीपछि उनले रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरे। लगत्तै उनले जसपा अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल गरे।

एमाले अध्यक्ष ओलीसँगको छलफलमा एमाले महासचिव शङ्कर पोख्रेल पनि थिए। उता माओवादीबाट उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी  श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए। पुन वर्तमान गठबन्धन भत्काउन सक्रिय पात्र हुन्।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेर दिउसो पार्टीका मन्त्रीहरूसँग छलफल गरेका थिए।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेकाले मन्त्रीहरूको कार्यसम्पादनबारे देउवाले छलफल गरेको दाबी गरिए पनि छलफल सत्ता गठबन्धनमा बढ्दो सङ्कट केन्द्रित थियो। सोमबार जे पनि हुनसक्ने भन्दै देउवाले मन्त्रीहरूलाई उस्तै परे राजीनामा लागि तयार रहन निर्देशन दिएका थिए।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र कांग्रेसबीच गम्भीर खटपट सुरु भएको परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएबाट पनि पुष्टि हुन्छ।

परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ देखाउँदै उनको भ्रमण स्थगित भएको सूचना निकालेको थियो।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

कांग्रेसको महासमिति बैठकमा माओवादी सशस्त्र द्धन्द्धबारे पार्टी उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदनमा उल्लेख गरिएका शब्द र आगामी निर्वाचन पूर्व नै कुनै दलसँग गठबन्धन नगर्ने महामन्त्री गगनकुमार थापाको प्रतिवेदनपछि माओवादी केन्द्र कांग्रेससँग रिसाएको थियो।

त्यसपछि माओवादीको स्थायी समितिको बैठकले कांग्रेसलाई दिएको वचन तोड्दै राष्ट्रिय सभा अध्यक्षमा पार्टीले उम्मेदवारी उठाउने निर्णय गर्यो। यो बिचमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सघन छलफलमा बसे। उनी भरतपुर महानगरपालिकाको कार्यक्रममा गएर सम्बोधन गरेर आए।

यता माओवादी केन्द्र र कांग्रेसबीचको खटपट घट्नुको साटो बढ्दै जाँदा आइतबार राजनीतिक तहमा उच्चस्तरीय अलग-अलग भेटघाट र छलफलहरू बढ्दै गयो।

संकटकाबीच सोमबार बिहान ८ बजे बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक राखिएको छ। बैठक अगाडि नै सत्ता गठबन्धनमा रहेको प्रमुख दल कांग्रेस राष्ट्रिय सभा अध्यक्षको दावेदारी नछाड्ने बरु सरकार छाड्ने तयारीमा देखिन्छ भने उता एमालेले माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष नछाड्न बरु सरकार संकटमा परे साथ दिने वचन दिएको देखिन्छ।

सत्ता गठबन्धनको विवादकाबीच बढेको दौडधुपमा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टी लगायतका दलका नेताहरू भने कतै सहभागी भएको देखिन्न।

फागुन २०, २०८० आइतबार २२:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।