अम्बानीको छोराको विवाहको लागि जामनगरलाई १० दिन अन्तर्राष्ट्रिय एयरपोर्टको मान्यता

अम्बानीको छोराको विवाहको लागि जामनगरलाई १० दिन अन्तर्राष्ट्रिय एयरपोर्टको मान्यता

एजेन्सी :  भारतका धनाढ्य मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको विवाहअघि जामनगर विमानस्थललाई १० दिनका लागि अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता दिइएको छ।

मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र चर्चित व्यापारी वीरेन मर्चेन्टकी छोरी राधिका मर्चेन्टको विवाह जामनगरमा हुँदैछ। मार्च १ बाट जारी प्रि-वेडिङ समारोह मार्च ३ तारिखसम्म चल्नेछ।

अम्बानीका छोराका प्रि-वेडिङ समारोहका लागि विश्वभरका चर्चित व्यक्तिहरू जामनगर पुग्ने भएपछि यस्तो गर्नुपरेको अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम द हिन्दुले समाचार लेखेको छ।

उक्त समारोहमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेसबुकका संस्थापक मार्क जुकरबर्ग, चर्चित गायिका रिहाना, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का, धेरै देशका प्रधानमन्त्री र बलिउडका चर्चित कलाकारहरू सहभागी हुँदैछन्।

धेरै अन्तर्राष्ट्रिय उडानहरू फेब्रुअरी २५ र मार्च ५ बीचमा विमानस्थलमा आवातजावत गर्ने भएपछि स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र गृह मन्त्रालयले विमानस्थलमै भन्सार, अध्यागमन र क्वारेन्टाइन समेत बनाएको छ।

जामनगर एक सैन्य एयरपोर्ट भए पनि यहाँ नागरिक विमानहरूलाई पनि अवतरण गर्न अनुमति दिइएको छ। विमानस्थल प्राधिकरणले यहाँ छुट्टै यात्रु टर्मिनल निर्माण गरेको छ।

 तर, अनन्त अम्बानीको बिहेमा एयरपोर्टमा बढ्दो भीडलाई ध्यानमा राख्दै भारतीय वायुसेनाले पनि आफ्नो संवेदनशील ‘प्राविधिक क्षेत्रमा’मा समेत सञ्चालन र पहुँचको अनुमति दिएको समाचार आइरहेका छन्।

नाम नखुलाउने सर्तमा द हिन्दु पत्रिकाले विमानस्थलका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘निश्चित समयमा प्राविधिक क्षेत्रमा तीन वटा विमान राख्ने गरिएको छ। विमानस्थलको सिभिल एरियामा एक समयमा छ साना र तीन ठूला विमान पार्क गर्न सकिन्छ।’

सामान्य अवस्थामा जामनगर विमानस्थला दैनिक छ विमानले उडान र अवतरण गर्ने गरेकोमा शुक्रबार यो संख्या १४० सम्म पुगेको थियो। यसमध्ये ५० प्रतिशत अन्तर्राष्ट्रिय उडान भएको ती अधिकारीले जानकारी दिएका छन्।

भारतीय समाचार पत्रिका बिजनेस स्ट्यान्डर्डमा छापिएको एक रिपोर्टका अनुसार जामनगर विमानस्थलमा पार्किङ नभएकाले चार्डड विमानहरूलाई पार्किङका लागि नजिकै रहेको राजकोट, पोरबन्दर, अहमदावाद र मुम्बई पठाइएको छ।

१९ फागुन, २०८०, ११:२६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।