महानगरले बागदरबारको सबलीकरण गर्ने, अध्ययन र डिजाइनका लागि सम्झौता

महानगरले बागदरबारको सबलीकरण गर्ने, अध्ययन र डिजाइनका लागि सम्झौता

काठमाडौँ : २०७२ को भूकम्पमा क्षति पुगेको बागदरबारलाई सबलीकरण गर्ने प्रक्रिया अगाडि बढाउँदै काठमाडौँ महानगरपालिकाले सम्झौता गरेको छ।

भवनलाई ऊर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि शुक्रवार विल्डिङ् इनर्जी एफीसियन्सी इन, नेपाल (बीन) सँग सम्झौता गरेको हो।

सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी र बीनका परियोजना प्रबन्धक डेनियल नेयरले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौतामा बागदरबारको सबलीकरण (रेक्टोफिटिङ्) गर्दा ऊर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरूलाई ऊर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने लगायत उल्लेख छ।

आयोगका उपाध्यक्ष डा. राज भण्डारीले बढ्दो वातावरणीय ह्रास घटाउन ऊर्जामैत्री भवन निर्माणमा काम सुरु भएपछि कार्बन उत्सर्जनबाट हुने असर कम गराउन मद्दत हुने बताए।

पुरातात्त्विक महत्त्व भएको बागदरबारको सबलीकरण गर्दा प्रयोग गरिने निर्माण सामाग्री, पर्खाल, जग र छानाको अवस्था, कोठाहरू तताउन वा हावालाई दोहोरो आउजाउ हुने, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउने उनले बताए।

आयोगका उपाध्यक्ष राजभण्डारीकाअनुसार ऊर्जामैत्री भवन निर्माणले दिगो विकास लक्ष्यमा किफायती स्वच्छ ऊर्जा, दिगो सहर र समुदाय, उत्तरदायी उत्पादन र खपत, उद्योग नवीनतम प्रविधि र भौतिक पूर्वाधारलगायत सूचकमा योगदान दिन्छ।

१८ फागुन, २०८०, २०:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।