एनसेल सेयर विक्रीबारे अध्ययन प्रतिवेदन संसदमा पेस गर्न माग

एनसेल सेयर विक्रीबारे अध्ययन प्रतिवेदन संसदमा पेस गर्न माग

काठमाडौँ : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले एनसेलमा रहेको आजियाटाको ८० प्रतिशत शेयर विक्रीबारे सरकारले गरेको अध्ययन प्रतिवेदनबारे संसदमा छलफल हुनुपर्ने माग गरेका छन्।

सोमबार संसदमा बोल्दै उनले एनसेलमा रहेको आजियाटाको ८० प्रतिशत शेयर विक्रीको वास्तविकता के हो भन्ने सबै नेपालीले थाहा पाउनुपर्ने भन्दै भने ‘जे हो त्यो संसद्बाट जनतामा पुग्नुपर्छ र प्रतिवेदनबारे संसदमा छलफल हुनुपर्छ।'

के भइरहेको छ प्रतिवेदन ?

एनसेलमा रहेको ८० प्रतिशत सेयर विक्री गरेर बाहिरिने आजियाटाको निर्णय सार्वजनिक भए लगत्तै सेयर खरिदबिक्रीमा चलखेल भएको आशङ्कामा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो।

आजियाटाले मंसिर १५ गते प्रेस विज्ञप्ति जारी गरेर आजियाटा युके लिमिटेडसँग सेन्ट किट्स एन्ड नेभिसमा अवस्थित रेनोल्ड्स होल्डिङ्समा रहेको आजियाटाको शत प्रतिशत स्वामित्व स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गरेको सार्वजनिक गरेको थियो।

संसदीय समिति लगायतकाहरुले सो सेयर खरिदबिक्रीमा प्रश्न उठाएपछि सरकारले मंसिर २१ गते पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिले एनसेल शेयर खरिद विक्रीबारे प्रारम्भदेखि नै छानबिन गर्नुपर्ने सुझावसहित सरकारलाई प्रतिवेदन बुझाए पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन।

सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले एनसेल सम्बन्धी प्रतिवेदन सरोकारवाला निकायमा पठाएर कार्यान्वयनको चरणमा रहेको दाबी गरेकी थिइन्। त्यसयता शेयर खरिद विक्रीको निर्णयबारे सरकारी निकायले के गरिरहेको छ सो खुल्न सकेको छैन।

यो बिचमा सार्वजनिक लेखा समिति र अर्थ समितिले एनसेल सेयर खरिदबिक्रीबारेको अध्ययन प्रतिवेदन समितिमा पठाउन सरकारलाई आग्रह गरेका थिए। तर सरकारले प्रतिवेदन संसदीय समितिमा पठाएको छैन। आफूले सार्वजनिक समेत गरेको छैन।

१४ फागुन, २०८०, १४:३०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।