आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म रहने

आनीको जीवन प्रेरित ‘आनी छोइङ डोल्मा’ निफको ओपनिङ फिल्म रहने

काठमाडौँ : आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : नथिङ इम्पोसिबल’ नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को ओपनिङ फिल्म रहने भएको छ।

फेस्टिभल अध्यक्ष केपी पाठकले जेनिफर लिन र सान बाई निर्देशित डकुमेन्ट्री महोत्सवको उद्घाटनसँगै देखाइने फिल्मको रुपमा रहने जानकारी दिए।

आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र समाजसेवालाई डकुमेन्ट्रीले प्रस्तुतिको विषय बनाएको छ। निर्देशक लिनले डकुमेन्ट्री आनीको स्वतन्त्रताको खोजीको रुपमा केन्द्रित रहेको बताएकी छिन्।

हङकङको सिटी युनिभर्सिटीमा आम सञ्चारकी प्राध्यापक लिनले आनीलाई ७ वर्ष पछ्याएर यो डकुमेन्ट्री तयार गरेकी हुन्। सन् २०१० मा गरिबीमा हुर्किएका बालिकाको शिक्षाको लागि आनीले स्थापना गरेको आर्यतारा स्कुलको भ्रमणपछि डकुमेन्ट्री बनाउने सोच पलाएको र यसको ५ वर्षपछि काम थालेको लिनले अन्तर्वार्ताहरूमा बताएकी छिन्।

डकुमेन्ट्रीले गत साल वार्सा इन्टरनेशनल फिल्म फेस्टिभलमा एसियन प्यासिफिक अडियन्स अवार्ड र नेटप्याक अवार्ड जितेको थियो। डकुमेन्ट्री निफमा पनि माउन्ट एभरेस्ट अवार्डका लागि प्रतिस्पर्धामा रहेको छ। यो विधामा देश विदेशका १३ वटा डकुमेन्ट्री प्रतिस्पर्धामा रहेका छन्।

विजेता चलचित्रले १ हजार नगद राशिको माउन्ट एभरेस्ट अवार्ड प्राप्त गर्नेछन्।

चैत १ देखि ५ गतेसम्म चल्ने चलचित्र महोत्सवमा यो साल ४० देशका ८८ फिल्म प्रदर्शन हुँदैछन्। महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यूएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन्।

फागुन १३, २०८० आइतबार १३:०८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।