पार्कको चिसो भुईँमा रात कटाएका मिटरब्याज पीडितहरू (फोटो कथा)

पार्कको चिसो भुईँमा रात कटाएका मिटरब्याज पीडितहरू (फोटो कथा)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं :देशका विभिन्न जिल्लाबाट सामलसहित हिँडेर आएका काठमाडौं आइपुगेका मिटरब्याज र लघुवित्त पीडितहरूले सिंहदरबारमा मार्चपास गर्ने तयारीमा छन्।

लघुवित्तले दिएको सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने उनीहरूको माग छ। वित्तीय अपराध बन्द गर्न पनि उनीहरूले माग गरेका छन्।

उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न, धितो लिलाम फुकुवा गर्न, आम गरिब किसानलाई निःशुल्क ऋणको व्यवस्था गर्नुपर्ने लगायत नौ बुँदे माग अघि सारेका छन्।

लत्ताकपडासहित आएका लघुवित्त पीडितले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने बताएका छन्। मिटरब्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौं आएको उनीहरूको भनाइ छ।

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ।

गत चैतमा पैदलयात्रा गर्दै काठमाडौं आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएपछि आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ।

१० फागुन, २०८०, १५:२०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।