सिके राउतको टिप्पणी- 'एकीकृत समाजवादीलाई नेपालको भन्दा चीनको बढी चिन्ता छ'

सिके राउतको टिप्पणी- 'एकीकृत समाजवादीलाई नेपालको भन्दा चीनको बढी चिन्ता छ'

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउतले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपालको भन्दा चीनको बढी चिन्ता लिने पार्टी भएको आरोप लगाएका छन्।

यही माघ २१ गते पार्टीको केन्द्रीय समिति बैठकमा जनमतका अध्यक्ष राउतले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत् यस्तो आरोप लगाएका छन्।

उनले एमालेबाट सैद्धान्तिक धरातलभन्दा पनि व्यक्तिगत अहंकारका कारण छुट्टिएर एकीकृत समाजवादी पार्टी गठन भएको टिप्पणी गरे।

एकीकृत समाजवादीले २०७९ माघ २१ र २२ गते प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा टिप्पणी गर्दै अध्यक्ष राउतले नेपालको राजनीतिक दलको प्रतिवेदन कम र चिनियाँ राजनैतिक दलको प्रतिवेदन ज्यादा देखिएको बताए।

प्रतिवेदनमा अध्यक्ष राउतले लेखेका छन्, 'एकीकृत समाजवादीको प्रतिवेदनमा चिनियाँ राजनैतिक दलको प्रतिवेदन ज्यादा देखिन्छ। चीन कताबाट घेरिँदै छ, चीनको विरोधमा कता मोर्चाबन्दी हुँदैछ भन्ने कुरामा सो दलको बढी सरोकार राखेको देखिन्छ।'

उनको प्रतिवेदन अनुसार एकीकृत समाजवादीले अन्तराष्ट्रिय परिस्थितिको मूल्याङ्कनबाट सुरूवात भएर साम्राज्यवाद, प्रभुत्ववाद र एकाधिकार एवं वित्तीय पूँजीवादको विरुद्धमा उभिएको बताएको तर अमेरिकाको हिन्द प्रशान्त रणनीति (आईपीएस) र चारदेशीय सुरक्षा समझदारी (कुवाड), तीन देशीय सुरक्षा समझदारी, एटलान्टिक सन्धि संगठन (नाटो) आदिले समाजवादी चीनलाई घेरेको चिन्ता मात्र गरेको छ।

माघ २३, २०८० मंगलबार १८:२८:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।