नेपाली दर्शक हलमा तान्ने क्षमता छैन, विदेशी भाषामा डबिङको फुर्ति !

नेपाली दर्शक हलमा तान्ने क्षमता छैन, विदेशी भाषामा डबिङको फुर्ति !

काठमाडौं : पछिल्लो समय नेपाली फिल्मका निर्माता तथा निर्देशक नेपालीसहित विदेशी भाषामा फिल्म बनाउन लागि परेका छन्।

नेपाली दर्शकले नै फिल्ममा नरुचाइरहेको अवस्थामा निर्माता तथा निर्देशकहरू विदेशी भाषामा नेपाली फिल्म डबिङ गरेर अन्तर्राष्ट्रिय बजारमा लैजाने भन्दै चर्को आवाज उठाइरहेका छन्।

अहिलेसम्मको अवस्था हेर्दा त्यसरी विदेशी भाषामा डब गरेका फिल्मले विदेशी बजारमा खासै प्रभाव भने पार्न सकेका छैनन्। त्यसको प्रत्यक्ष उदाहरण हुन्– प्रेमगीत ३, परस्त्री, वीरविक्रम २।

यसैबीच सोमबार निर्देशक सविर श्रेष्ठले पनि नेपाली सहित चार भाषामा फिल्म ‘रुखान’ निर्माणको घोषणा गरेका छन्। उनका अनुसार फिल्म नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा दर्शकले हेर्न पाउनेछन्।

एक महिलाको संघर्षको कथामा निर्माण गर्न लागिएको फिल्मका कलाकार भने छनोट भइसकेका छैनन्। डा. रुपेश घिमिरेको कथा रहेको फिल्म अष्ट्रेलिया निवासी कृष्ण थापा र सुरेश गुरुङको लगानीमा बन्दैछ।

त्यसैगरी हिन्दी र अंग्रेजी भाषामा डब भएको अर्को फिल्म ‘गोर्खा वारियर’ फागुन ११ गतेबाट नेपालमा प्रदर्शन हुँदैछ। तीन भाषामा बनेको फिल्मलाई लिएर निर्माता तथा निर्देशक मिलन चाम्स निकै उत्साहित छन्। नेपाली फिल्मलाई विश्वभर पुर्याउन हिन्दी र अंग्रेजी भाषामा डब गरिएको उनको भनाइ छ।

यता आँचल शर्मा अभिनित फिल्म ‘हिट म्यान’पनि नेपाली, हिन्दी लगायत १६ भाषामा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ। फिल्ममा शर्माको अलावा विष्णु अधिकारी र प्रशान्त ताम्राकार मुख्य भूमिकामा देखिँदैछन्।

दक्षिण भारतीय–तेलुगु फिल्मका व्यस्त प्राविधिकहरूसँग सहकार्य गरेर फिल्म निर्माण गरिने फिल्मको ट्रेलर युएईको बुर्ज खलिफा टावरमा देखाइने कलाकार विष्णु अधिकारीले एक महिनअघि बताएका थिए। यद्यपि फिल्म बन्छ वा बन्दैन, यसै भन्न सकिने अवस्था छैन।

९९ सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरनेटमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दिपक अधिकरी निर्माता र सन्नी लावती सह–निर्माताको रूपमा रहेका छन्।

गत वर्ष घोषणा भएको फिल्म ‘सायरा’ पनि नेपाली र हिन्दी भाषामा डब गरेर भारतमा समेत प्रदर्शन गर्ने निर्माण टिमको तयारी थियो। आर्यन सिग्देल र डान्सर कविता नेपालीको मुख्य भूमिका रहने भनिएको फिल्मको निर्माण टिम त्यसपछि भने चुपचाप छ।

यता रियल जोडी हरिहर अधिकारी र नीता ढुंगाना पनि आफ्नो नयाँ फिल्म ‘ह्रश्व दीर्घ’ नेपाली, हिन्दी र तेलगु भाषामा प्रदर्शन गर्ने जनाइसकेका छन्। दक्षिण भारतीय कलाकारहरूको समेत अभिनय रहने फिल्मको एक चरणको छायांकनसमेत सकिसकेको छ।

यीबाहेक अन्य थुप्रै निर्माता तथा निर्देशकहरू विदेशी भाषामा फिल्म निर्माणको होडबाजी चलाइरहेका छन्।

निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्म ‘प्रेम गीत ३’ नेपाली र हिन्दी भाषामा डब गरेर प्रदर्शन गरेपछि हिन्दी तथा अंग्रेजी भाषामा डब गर्ने लहर चलेको हो। तर, जसरी फिल्मको प्रचार भएको थियो, त्यसरी हलमा दर्शक ओहिरिएनन्।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्म ‘परस्त्री’पनि नेपाली र हिन्दीमा डब गरिएको थियो। उनकै छोरा सुरज पाण्डेले निर्देशन गरेकोे फिल्मले व्यापार गर्न सकेन। दुवैतर्फको खर्च हेर्ने हो भने यो फिल्मका शर्मिलालाई हात लाग्यो शून्य जस्तै भयो।

नेपाली सिनेमा हलमै दर्शक नआएर पानीसमेत भन्न नपाइरहेका बेला निर्माता तथा निर्देशकहरू विदेशी भाषामा डबिङ गरेर विदेशीसामू फिल्म पुर्याउँछु भन्नु एक त फूर्ति अनि अर्को फिल्म प्रचारको अस्त्रबाहेक अरु हैन।

यो लहडले प्रोडक्सन खर्चसमेत बढाइरहेको छ। त्यसरी विदेशी भाषाामा डब भएका फिल्मबाट निर्मातालाई प्रोडक्सन खर्चसमेत उठाउनसमेत हम्मेहम्मेत पर्ने गरेको आजसम्म देखिन्छ।

माघ २२, २०८० सोमबार १४:४७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।