अरुण चौधरी पक्राउबारे सिआइबीका एसएसपी आचार्य '१० रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको प्रमाणका आधारमा पक्राउ'

अरुण चौधरी पक्राउबारे सिआइबीका एसएसपी आचार्य '१० रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको प्रमाणका आधारमा पक्राउ'

पहिलो बाँसबारी छाला जुत्ता रहेको १८ रोपनी सरकारी जग्गामध्येबाट १० रोपनी हिनामिना भएको सबन्धमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेर तीन जना पक्राउ गरेको छ।

त्यो तत्कालीन श्री ५ को जग्गा थियो। १८ रोपनी ३ आना २ पैसा जग्गा थियो। जग्गा श्री ५ को सरकारले तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगलाई दिएको थियो।

सोही छाला जुत्ता उद्योगको जग्गामध्येबाट तत्कालीन बाँसबारी छाला जुत्ता उद्योगको अध्यक्ष अजितनारायण सिंह थापा र चौधरी परिवारको तर्फबाट लुनकरणदास चौधरीबिच सम्झौता भयो।

पहिलो जुत्ता उत्पादन गर्ने भनेर सम्झौतामा कम्पनी स्थापना गर्ने, कम्पनी स्थापनापछि ५१ प्रतिशत लुनकरणदास चौधरी र उहाँको परिवारको, २५ प्रतिशत बाँसबारी छाला जुत्ता उद्योगको र २४ प्रतिशत सर्वसाधारणको सेयर हुने र त्यो कम्पनीले क्यानभास जुत्ता उत्पादन गर्ने उल्लेख छ।

त्यही सम्झौताको आधारमा २०४३ भदौ १३ गते च्याम्पियन फुटवेयर लिमिटेडमा बनाएर निर्णय गरियो। २०४३ कात्तिक २७ मा कम्पनी रजिस्टार कार्यालयमा च्याम्पियन फुटवेयर लिमिटेड दर्ता भएर २०४४ भदौ ५ मा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको ६ रोपनी जग्गा प्रति रोपनी २ लाख ५० हजारको दरले जम्मा १५ लाखमा फुटवेयरको नाममा हस्तान्तरण गरेको देखिन्छ।

त्यसैगरेर २०४४ कात्तिक १३ मा बाँसबारी छाला जुत्ताको जग्गा अर्को प्रवर्द्धनको लागि भनेर १ लाख रुपैयाँ खर्च गरेको थियो। सो खर्च गरेर थप ४ रोपनी जग्गा २०४४ मंसिर १८ मा दिएर बाँसबारी छाला जुत्ता कारखानाले फुटवेयरमा २६ लाख रुपैयाँ लगानी गरेको देखिन्छ।

सुरुमा कम्पनी स्थापना गर्दा कम्पनीको चालूपूँजी ५० लाख थियो। ५० लाख रुपैयाँमा २५ प्रतिशत लगानीका लागि साढे १२ लाख रुपैयाँ लगानी गर्नुपर्नेमा २६ लाख लगानी गरियो। त्यसपछि चालूपूँजी १ करोड बनाएर ४ रोपनी जग्गा च्याम्पियन फुटवेयलाई दिएको देखिन्छ।

जम्मा लगानीको हिसाब हेर्दा सर्वसाधारणको सेयर २४ प्रतिशत भनेकोमा त्यो सेयर कहीँ पनि इस्यु भएको देखिँदैन। ५१ प्रतिशत सेयरवालाहरूले अरू र बाँकी बाँसबारी छाला जुत्ता उद्योगले २६ लाख लगानी गरेको थियो।

अन्य पक्षबाट लगानी हुनुपर्ने ७४ लाख रुपैयाँबाट जम्मा ८ लाख रुपैयाँमात्रै लगानी भएको देखिन्छ। त्यसकारण सम्पूर्ण योजना त्यहाँ जुत्ता कारखाना स्थापना नगरी बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी र बाँकी रहेको ८ रोपनी जग्गा पनि लिने उद्देश्य रहेको देखिन्छ।

किनभने जुन जुत्ता कारखाना स्थापना भयो त्यसपछि २ वा ३ वर्ष पछि नै जुत्ता कारखाना बन्द भएको अवस्था देखिन्छ।

जब जुत्ता कारखाना बन्द भयो, २०४९ असार २३ गते अर्थ मन्त्रालयले निजीकरण गर्ने कुराहरू गर्यो।  निजीकरणको क्रममा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सरकारी सेयर मात्र किन्छु भनेर च्याम्पियन फुटवेयरको मान्छेहरू गएको देखिन्छ।

अर्का निर्णय जुन २५ प्रतिशत सेयर थियो त्यो महालेखा नियन्त्रणको कार्यालयमा गयो वा महालेखा नियन्त्रकको कार्यालयबाट यो सबै २५ प्रतिशतको लिलामी निकाल्ने र त्यो लिलामीलाई विभिन्न ४-५ जना पार्टीहरूले लिलामीमा हालेर ३६ लाख रुपैयाँमा अरुण कुमार चौधरीले त्यो सेयर खरिद गरेको देखिन्छ।

२०५२ साउन ११ मा सेयर अरुण कुमार चौधरीको नाममा आयो। २०४४ साउन १२ मा पब्लिक लिमिटेड कम्पनीलाई परिवर्तन गरेर प्राइभेट लिमिटेड कम्पनी बनाउने प्रक्रिया अगाडि बढाएर २०४४ पुस ४ मा प्राइभेट लिमिटेड कम्पनीमा दर्ता भइसकेपछि नेपाल सरकारको वा तत्कालीन श्री ५ को सरकारको अधीनमा रहेको जग्गा व्यक्तिको नाममा गएको देखिन्छ।

च्याम्पियन फुटवेयर प्रालिलाई २०५४ पुसमा प्रालिमा दर्ता गरेर उनीहरूले यसलाई परिवर्तन गरे। पछि नाम परिवर्तन गरेर सिजी चाँदबा रेसिडेन्सी बनाएर यसलाई पुरानै दर्ता नम्बरमा राखेर नाम परिवर्तन गरेर अहिले कुनै व्यक्तिहरूको नाममा पूर्णरुपमा गएको देखिन्छ।

प्रहरीले अनुसन्धान नै नगरीकन व्यवसायीलाई पक्रेको भन्ने जुन विषय आएको छ, वास्तवमा यो लामो समय अनुसन्धान गरिएको विषय हो।

अनुसन्धानमा नेपाल सरकारको जमिनलाई सरकारको कुनै निर्णय नभईकन बाँसबारी छाला जुत्ता उद्योगको अध्यक्षको एकल निर्णय गरेर १० रोपनी जग्गा कुनै कम्पनीको नाममा सेयरको रूपमा दिएर त्यो सेयर बिस्तारै आफ्नो प्राइभेट लिमिटेड कम्पनीमा परिवर्तन गरेर सेयरकै नाममा बाँसबारी जस्तो महत्त्वपूर्ण ठाउँमा रहेको १० रोपनी जग्गालाई ३६ लाख रुपैयाँमा प्राइभेटमा परिणत गरेको देखियो।

त्यसकै आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल प्रचलनमा रहेको मुलुकी ऐनको किर्ते र ठगी अन्तर्गत मुद्दा चल्ने देखेर हाल प्रचलनमा रहेको अपराध संहिता बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएका हौँ।

वास्तवमा यो ३ महिनाभन्दा बढी समय अनुसन्धान गरेर देखिएको विषय हो। हामी सोही अनुसार अनुसन्धान गर्नेछौँ।

(शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सिआइबीका एसएसपी आचार्यले सार्वजनिक गरेको विवरणमा आधारित)

१९ माघ, २०८०, १९:०३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।