कलाकार र राजनीतिज्ञको पेशागत लुकामारी : कलाकार राजनीतिमा, राजनीतिज्ञ कलाकारितामा

कलाकार र राजनीतिज्ञको पेशागत लुकामारी : कलाकार राजनीतिमा, राजनीतिज्ञ कलाकारितामा

काठमाडौं : नेपालमा केही वर्षयता नेता र कलाकारबीचको पेसामा साटफेर जस्तै चलिरहेको देखिन्छ। कोही कलाकार राजनीतिमा गइरहेका छन् त कोही नेतामा कलाकार हुने रहर बढेको छ। 

नेपाली फिल्ममा अभिनेत्री रेखा थापा, करिश्मा मानन्धर, निर्देशक तथा स्कृप्ट डाक्टर मनोज पण्डित, निर्माता तथा निर्देशक सरोज थापा (रोज राणा) देखि गायिका कोमल ओलीसम्मले राजनीतिको रस चाखिसकेका छन्। कोही चाख्ने क्रममा नै छन्। यसमा रोजमात्र सफल भएर प्रदेश मन्त्री भइसके। अन्य सांसदहुने संघर्षमा छन्।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले एकबेला एमालेका तर्फबाट राजनीति गर्न खोजेका थिए। तर, सकेनन्। पछि कांग्रेसमा छिरेर उनी चलचित्र विकास बोर्डको अध्यक्ष भए।

लोक गायनमा आफ्नै छाप बनाएकी गायिका कोमल ओली राजनीतिमा होमिएको लामै समय भयो। उनी एमालेबाट अघिल्लो राष्ट्रिय सभा सदस्य बनेकी थिइन्। यसपटक उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनिन् तर पराजित भइन्।  उनी राजनीतिमा सक्रिय नै छिन्।

फिल्मका निर्माता निर्देशक तथा कलाकार सरोज थापा (रोज राणा) काँग्रेसबाट लुम्बिनी प्रदेशको सांसदहुँदै उद्योग वाणिज्य, श्रम तथा यातायात मन्त्री बनिसके। कला र अपराध दुबै क्षेत्रमा यी परिचित हुन्।

यता अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृ हुन्। उनले गएको प्रतिनिधि सभाको चुनावमा उमेम्दवार बनिन् र हारिन्। पार्टीको महामन्त्री बन्ने उनको प्रयास पनि सफल भएन। अहिले उनी अमेरिकामा छिन्। सन्तान जन्माउन अमेरिका गएको भन्दै आफ्नै पार्टी अध्यक्षबाट आलोचना भएपछि अहिले आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई सामाजिक सञ्जालबाट छेडहान्दै बसेकी छिन्।

बेलाबेला पुराना तथा नयाँ कलाकारहरूले आफ्नो भविष्य कला क्षेत्रमा नदेखेको कारण उनीहरू निर्वाचनमा होमिएको आरोप समेत लाग्ने गर्दछ। यस बारेमा उनीहरूले प्रतिवाद गर्दै जनताको सेवाका लागि आएको दाबी गर्छन्। 

यतिबेला नेपाली फिल्मको धमाधम घोषणा भएता पनि पुराना कलाकारहरूले काम पाउन सकेका छैनन्। कलाकार नै बेरोजगार भइरहेको अवस्थामा धमाधम राजनीतिक दलका शीर्ष नेताहरू फिल्ममा अनुबन्धित हुन थालेका छन्। पूर्वप्रधानमन्त्री देखि नगरप्रमुखसम्म फिल्ममा अभिनय गर्न थालेका छन्।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फिल्म ‘खजुरे ब्रो’मा शीर्ष भूमिकामा अभिनय गरेको एक साता नबित्दै एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि फिल्म खेल्ने घोषणा गरे। 

आइतबार बत्तिसपुतलीमा एक कार्यक्रम गरेर उनलाई फिल्म ‘नमेटिने घाउ’मा अनुबन्ध गरियो। सक्कली प्रधानमन्त्री भइसकेका  उनले यो फिल्ममा प्रधानमन्त्रीको भूमिका निवार्ह गर्दैछन्। फिल्मको शुभ मुर्हतमा एक्सन कट गर्न आइपुगेका ओलीले आफ्नो भूमिका र फिल्मका बारेमा बोलेनन्। बरू पूर्वराजा ज्ञानेन्द्र शाहलाई गाली गर्न र कानुनका पाठ पढाउन तर्फ लागे।

यसअघि पनि उनले फिल्म ‘रातो सुर्य’मा अभिनय गरेका थिए, जुन अहिलेसम्म पूरा हुन सकेको छैन। ओलीकै सेरोफेरोमा निर्माण सुरू भएको यो फिल्मको छायांकन कहिले सकिन्छ टुङ्गो छैन। यो फिल्मलाई दीपेन्द्र दाहालको निर्देशन गरिरहेका थिए।

फिल्ममा काम पाउन छाडेपछि घरमा बसिरहेका अभिनेता रमित ढुंगाना यसै फिल्मबाट निर्देशनमा होमिएका हुन्। निर्देशक बन्न तयार बनेका ढुङ्गानाले फिल्म ‘नमेटिने घाउ’मा प्रधानमन्त्रीको भूमिका निवार्ह गर्न ओलीलाई अफर गरेका थिए। उनको अफरलाई ओलीले नकार्न सकेनन् र फिल्ममा अभिनय गर्न राजी भएको कार्यक्रममा जानकारी दिइयो।

यो फिल्ममा ओली मात्र होइन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि फिल्म खेल्न राजी भएका छन्। ओलीको एक्सन कटमा क्ल्याप हान्न बत्तिसपुतलीस्थित कार्यक्रममा उपस्थित भएका शाहीले पनि आफूले फिल्ममा काम गर्न लागेको जानकारी दिएनन्। 

ओलीको भूमिका खुलाएको निर्माण पक्षले शाहीको कुन भूमिकामा काम गर्दैछन् भन्ने खुलाउन चाहेन। उनीहरूले निर्माण सुरू भएपछि जानकारी दिने बताए। उनीहरूको फिल्ममा भन्दा प्रचारमा ध्यान दिएको देखियो।

कार्यक्रममा निर्देशक रमित ढुङ्गानाले फिल्मको छायांकन छिट्टै हुने बताए। एसिड आक्रमणबाट पिडित बनेकाहरूको कथामा बन्न लागेको यो फिल्ममा मुख्य पात्र मुस्कान खातुन हुन्।

रहर कि कहर?

फिल्ममा अभिनय गर्नका लागि कुनै पनि शीर्ष नेतादेखि मेयरले अभिनय सिकेका छैनन्। एमाले अध्यक्ष ओली उपस्थित कार्यकर्ता हँसाउन माहिर नेतामा गनिन्छन्। उनी उखान टुक्काले आफ्ना कार्यकर्तालाई हँसाउन सक्छन्। तर,उनी कलाकार होइनन्।

फिल्म व्यावसायिक रुपमा जोडिएको हुन्छ। निर्माण टिमले चर्चाकै लागि ओलीलाई खेलाउन लागेका हुन् की भन्ने बुझिन्छ। यता भ्रष्टाचारको कुरा उठाउँदै राजनीतिमा होमिएका ज्ञानेन्द्र शाही पनि कलाकार होइनन्। तर, उनी पनि निर्माण टिमले फिल्ममा अफर गर्ने बित्तिकै खेल्न अग्रसर भएका छन्।

चर्चाकै हिसाब हेर्ने हो धरानका मेयर सर्वाधिक चिनिएका अनुहार हुन्। नेपालका मेयरमा सबै भन्दा बढी चर्चा भएकै कारण फिल्म ‘खजुरे ब्रो’ टिमले उनलाई अभिनय गराएको छ। उनी गायनमा रुचि राख्ने मेयर हुन् तर निर्माण टिमले उनलाई फिल्ममा काम गराएको छ।

उनलाई फिल्ममा शीर्ष भूमिकामा अभिनय गराएपछि निर्माण टिमले फिल्मको चर्चा हुने कुरामा मख्ख छ।

उनीहरूको यो रहर हो की कहर आफै जानून्।

१६ माघ, २०८०, १८:५४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।