सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब भन्दा बढी
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबारको दोस्रो दिन उकालो लागेको छ। बजार दोस्रो दिन दोहोरो अंकको सुधार भएको हो।
गत साताभरी बजार ओरालो लागेकोमा यो साता कारोबारको पहिलो दिनबाट सुधार हुँदै गएको हो। आइतबार आएको उक्त सुधारले सोमबार पनि निरन्तरता पाएको छ।
सोमबार नेप्से १०.२६ प्रतिशतले बढेर २ हजार १ सय ४.७२ को विन्दुमा कायम भएको छ। अघिल्लो दिन पनि नेप्से १०.३७ अंकले बढेर २ हजार ९४.४६ विन्दुमा रोकिएको थियो।
नेप्से बढेसँगै कारोबारमा आएको सुधारले पनि निरन्तरता पाएको छ। सोमबार कुल ४ अर्ब ५६ करोड रूपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो दिन कुल ३ अर्ब ८३ करोड रूपैयाँ बढीको कारोबार हुँदा गत बिहीबार ३ अर्ब ७६ करोड बढीको कारोबार भएको थियो।
सोमबार कारोबारमा आएका १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ कम्पनीको सेयर मूल्य घटेको छ।
यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ। सोमबार युनियन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ९.९९ प्रतिशत र मिड सालु हाइड्रोपावरको सेयर मूल्यमा पनि ९.९९ प्रतिशत वृद्धि भएको छ।
आज सर्वाधिक सेयर मूल्य बढेका १० कम्पनीमध्ये ९ कम्पनी जलविद्युत् समूहका रहेका छन्। जलविद्युत् समूहमा सोमबार १.०८ प्रतिशतको सुधार आएको छ, जुन अन्य समूहको भन्दा बढी हो।
जलविद्युत् क्षेत्रको सेयर मूल्य बढ्दा बैंकिङ समूहमा ०.०६, माइक्रोफाइनान्स समूहमा ०.०५ र निर्जीवन बिमा कम्पनी समूहमा ०.११ प्रतिशतको गिरावट आएको छ।
सोमबार गरिमा डिबेन्चर, २०८५ को सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।
माघ १५, २०८० सोमबार १७:३२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।