‘पुजार सार्की’मा यस्ता देखिए मुख्य अभिनेताहरू, फस्टलुकमा अटाएनन् कुनै पनि अभिनेत्री

‘पुजार सार्की’मा यस्ता देखिए मुख्य अभिनेताहरू, फस्टलुकमा अटाएनन् कुनै पनि अभिनेत्री

काठमाडौँ : फिल्म बन्ने नबन्ने भन्दै दुविधामा रहेको फिल्म ‘पुजार सार्की’ले पहिलो लुक्स सार्वजनिक गर्दै सुटिङ थालेको छ।

आइतबार अभिनेतात्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको लुक्स सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको छायांकन थालेको हो।

निर्देशक दिनेश राउतका अनुसार आइतबार फिल्म छायांकनका लागि फिल्म युनिट कास्की जिल्लाको कास्कीकोट गाउँतर्फ हिँडेको छ। फिल्मको चाँजोपाँचो मिलाउँदै मंगलबारबाट भने धमाधम फिल्मको छायांकन हुने उनको भनाई छ।

शनिबार यस फिल्मका मुख्य अभिनेता आर्यन सिग्देलले मनकामना मन्दिरमा स्कृप्ट पूजा गरेको केही तस्विर सार्वजनिक गरेका थिए।

आइतबार सार्वजनिक पोस्टर पुरानो ‘टेक्स्चर’मा तयार पारिएको देख्न सकिन्छ। जहाँ अभिनेतात्रय आर्यन, प्रदीप र पललाई राखिएको छ। उनीहरूलाई आ-आफ्नो चरित्रमा प्रस्तुत गरिएको अनुमान गर्न सकिन्छ।

रोयल भिमसेनले डिजाइन गरेको पोस्टरमा पुरानो कथामा फिल्म निर्माण हुन लागेको बुझ्न सकिन्छ। पोस्टरमा भने अभिनेत्रीलाई प्रस्तुत गरिएको छैन।

फिल्ममा आर्यन, प्रदीप, पलका अलावा अन्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुबास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको अभिनय रहनेछ।

फिल्म ‘उपहार’को गीतको समयमा अभिनेत्री तथा निर्मात्री रेखा थापाले नेपालका स्टार भनिएका कलाकार एक ठाउँमा आउन नसक्ने बताए पछि निर्देशक राउतले यो फिल्ममार्फत तीन अभिनेतालाई लिएर फिल्म निर्माण गरेका हुन्।

विकास सुवेदीले लेखेको यो फिल्ममा सङ्गीतकार सुबास भुसालले निर्माण गर्न लागेका हुन्।

भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ले दर्शकमाझ राम्रै छाप छोड्न सफल भएको थियो। यस फिल्ममा भुसालको पनि संगीत रहने छ भने हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले फिल्मको गीतमा शब्द लेखेका छन्।

गायकको कुरा गर्ने हो भने प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन्। यो फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरणको जिम्मा लिएको छ।

फिल्म अर्को वर्ष प्रदर्शन गर्ने निर्माण पक्षको तयारी छ।

माघ १४, २०८० आइतबार १२:३३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।