‘खजुरे ब्रो’ मा हर्क साम्पाङ, आवश्यकता कि चर्चा?

‘खजुरे ब्रो’ मा हर्क साम्पाङ, आवश्यकता कि चर्चा?

काठमाडौं : नेपाली फिल्ममा फिल्म चलाउने अनेक फण्डा अपनाउने गरिन्छ।

फिल्म चलाउन कोही अभिनेत्री हलमा रुने त कोही भाइरलको पछि लाग्ने गरेको त हामीले देख्दै आएका छौँ। त्यसमा पनि अब कोही चर्चामा रहेका व्यक्तिलाई सानो भूमिकामा भएपनि फिल्ममा खेलाएर प्रचार गर्नु पनि नौलो कुरा रहेन।

यसैको उदाहरण हुन् धरान उपमहानगरका मेयर हर्क साम्पाङ। केही वर्ष यता मेयर साम्पाङ फिल्म प्रचारको माध्यम बन्दै आएका छन्। नेपाली फिल्मकर्मीहरू आफ्नो प्रचारका लागि मिडिया भन्दा पहिला मेयर हर्कलाई भेट्न धरान पुग्ने गरेका छन्।

गत पुस २७ गते रिलिज भएको फिल्म ‘पर्खि बसे तिमीलाई’को टिमले हर्कलाई भेटेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। यता फिल्म ‘खजुरे ब्रो’टिमले त मेयर हर्कलाई नै फिल्ममा अभिनय गराएको छ।

विभिन्न कुराले विवादमा आइरहेका हर्कले बोलेपछि चर्चा हुने भन्दै निर्माण टिमले मेयर हर्कलाई अतिथि कलाकारको भूमिकामा काम गराएका छन्। शनिबार उनलाई फिल्ममा अभिनय गराएका हुन्। एक दशक अघि धरानमा हिँडडुल गर्ने खजुरे ब्रोको नाम सापटी लिएर निर्माण भइरहेको फिल्म यतिबेला धरानमै सुटिङ भइरहेको छ।

मेयर हर्कका बारेमा फिल्ममा कार्यकारी निर्माता डायमण्ड उप्रेतीले सांस्कृतिक पक्षको उजागर गर्नका लागि मेयर हर्कलाई खेलाएको बताएका छन्।

उनले पत्रकारसँगको कुराकानीमा भने, ‘धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ। उहाँको बिशेष भूमिका हुनेछ।’

पारिवारिक व्यङ्ग्यात्मक जनरामा आधारित व्यावसायिक फिल्म भनिएको यो फिल्मले धरानको संस्कृतिको प्रवर्द्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षले दाबी गर्दै आएको छ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भइरहेको फिल्म रेयर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहने छ।

यही फिल्मबाट मोडल नीति शाहले फिल्ममा डेब्यु गरेकी हुन्।

सुरज सुनुवारको निर्देशनमा बनिरहेको यस फिल्मका निर्माणकर्ता नवीन मानन्धर र सुरज सुनुवार हुन्। फिल्मलाई निर्देशक आफैले लेखेका हुन्।

फिल्मको कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन्। शिशिर बिसुंखेले फिल्मलाई खिचिरहेका छन् भने फिल्ममा संगीत अनमोल गुरुङको संगीत रहेको छ।

फिल्म आगामी जेठमा रिलिज गर्ने तयारी निर्माण पक्षको छ।

माघ १४, २०८० आइतबार १२:१७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।