‘नेपालमा पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा सम्भावना छ, लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस्’

‘नेपालमा पर्यटन, कृषि जस्ता क्षेत्रहरूमा सम्भावना छ, लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस्’

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारमा रहेका नेपाली आप्रवासीहरूलाई नेपालका विविध क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

कतारको दोहामा आयोजित ‘नेपाल विजनेश एसोसिएसन कतार’को सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रमा लगानी गर्न आह्वान गरेका हुन्।

उनले भने, ‘नेपालमा पर्यटन, पूर्वाधार विकास, नवीकरणीय ऊर्जा र कृषि जस्ता क्षेत्रहरूमा लगानीको प्रचुर सम्भावना रहेको छ। नवीकरणीय ऊर्जा, पर्यटन तथा आतिथ्य, पूर्वाधारको विकास, शहरीकरण, सूचना प्रविधिको क्षेत्रमा कतारले गरेका विकासको अनुभव नेपालमा प्रयोग गर्न सकिन्छ। नेपालमा लगानी गरी मुनाफा लिने अवसरबाट भरपुर फाइदा लिनुहोस्।’

अध्यक्ष ढकालले कतारको आर्थिक वृद्धि र विकासमा नेपाली श्रमिकहरूको योगदान रहेको बताउँदै ती श्रमिकहरूलाई सीपयुक्त बनाउन नेपालमा प्राविधिक विद्यालय स्थापना गर्न कतारस्थित आवासीय नेपालीहरूलाई आग्रह समेत गरे।

गैरआवासीय नेपालीका लागि पछिल्लो पटक नेपाल सरकारले गरेको नागरिकको प्रावधानले पनि विश्वमा छरिएर रहेका नेपालीलाई अब नेपालमा लगानीका लागि प्रोत्साहित गर्नुपर्ने उनको तर्क थियो।

उनले भने, ‘आफ्नो लगानीको भविष्य के होला भन्ने पनि यहाँहरूको मनमा थियो होला, तर अब नागरिकताको यो नयाँ कानुनी प्रावधानले नेपालमा लगानी गरी व्यवसाय गर्न सहज र सुरक्षित बनाएको छ भन्ने मलाई लागेको छ।’

माघ १४, २०८० आइतबार ०८:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।