साताको सेयर बजार : साताभरि नै बजार राताम्य, गत साताको तुलनामा ३.२९ प्रतिशतले ओरालो
काठमाडौँ : गएको साता २ हजार १ सय ५५ अंकमा बन्द भएको सेयर बजार यो साता २ हजार ८४ अंकमा पुगेर बन्द भयो। गत साता भन्दा यो साता सेयर बजार ३.२९ प्रतिशत झर्यो।
सेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ। यो साता जम्मा २५ अर्ब ९७ करोडको कारोबार भएको छ। कारोबारको पहिलो दिन अर्थात् आइतबार २५.६४, सोमबार ३१.४९, मङ्गलवार ०.४, बुधवार १०.२५ र बिहीबार ३.९४ अङ्कले बजार ओरालो लागेको छ।
बजार ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ। जसमा आइतबार ७ अर्ब ६७ करोडको कारोबार भएकोमा, सोमबार ६ अर्ब ३६ करोड, मङ्गलवार ४ अर्ब २९ करोड, बुधवार ३ अर्ब ८९ करोड र बिहीबार ३ अर्ब ७६ करोडको मात्रै कारोबार भएको हो।
यो साता होटेल तथा पर्यटनबाहेक सबै समूहको सेयर मूल्यमा गिरावट आएको थियो। होटेल तथा पर्यटन समूह भने १.१९ प्रतिशत बढ्यो। बैङ्कहरूको समूहमा विकास बैङ्क समूह सबैभन्दा धेरै ४.८७ प्रतिशत घट्यो।
यो साता बजारमा गिरावट आए पनि केही कम्पनीको सेयर मूल्य गिरावटमा भने त्यति धेरै प्रभाव पार्न सकेन। जसमा मिडसोलु हाइड्रोपावरको मूल्य ३४.९० प्रतिशत बढ्यो। दोस्रोमा समाज लघुवित्त रहेको छ। यस लघुवित्तको यो साता २२.७० प्रतिशतले सेयर मूल्य बढेको छ।
चन्द्रागिरि हिल्सको १३.५९, नेपाल ल्युब आयलको ११.९४ र जोशी हाइड्रोपावरको ६.५७ प्रतिशतले बढ्यो।
यो साता सीईडीबी हाइड्रोपावरको मूल्यमा सबैभन्दा धेरै अर्थात् १३.३६ प्रतिशत घट्यो। त्यसैगरी, हाथवे इन्भेस्टमेन्टको ११.३५ प्रतिशत, मोलुङ हाइड्रोपावरको १०.७० र जल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य ९.७१ प्रतिशतले घट्यो।
माघ १२, २०८० शुक्रबार १८:०५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।