आफ्नै फिल्मको शुभ मुहूर्तमा आएनन् सुनिल र वर्षा

आफ्नै फिल्मको शुभ मुहूर्तमा आएनन् सुनिल र वर्षा

 

काठमाडौं : ‘झोला’ र ‘भोर’ निर्माण गरेका यादवकुमार भट्टराईको निर्देशनमा फिल्म ‘झिल्को’ शुभ मुहूर्त गरिएको छ।

बिहीबार गुहेश्वरीमा फिल्मको शुभ मुहूर्त सँगै निर्माण घोषणा गरिएको हो। तर, फिल्मको मुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार नै उपस्थित भएनन्।

निर्माण टिमले फिल्मको मुहूर्त भन्दै गुहेश्वरीमा बोलाइएका पत्रकारले सुनिल पोखरेल र वर्षा सिवाकोटीलाई नदेखेपछि उनीहरू नै फिल्ममा हुने/नहुने कुरामा शंका गरेका थिए। निर्माण पक्षले उपस्थित भएका पत्रकारलाई काम विशेषले मुहूर्त समारोहमा सुनिल र वर्षा उपस्थित नभएको जानकारी दियो।

पत्रकारले वर्षा हुने हो की होइन भन्ने कुरामा आशंका मानेपछि शुक्रबार फिल्म ‘झिल्को’मा अनुबन्ध भएको खबर सार्वजनिक गरिन्।

वर्षाले आफू ‘झोला’ र ‘भोर’को निर्माण टिमसँग जोडिन पाउँदा खुशी लागेको सामाजिक सञ्जालमार्फत उल्लेख गरिन्।

मुहूर्त कार्यक्रममा फिल्मका कलाकार भोलाराज सापकोटा, बालकलाकार आयुषी ढकाल, गीतकार दिनेश अधिकारी लगायतको उपस्थिति रहेको थियो। मुहूर्त कार्यक्रममा झिल्कोका निर्देशक भट्टराईले फिल्ममा सामाजिक मुद्दालाई उठान गर्ने बताए।

उनले भने, ‘यो औपचारिक जानकारी मात्रै हो। अब हाम्रो भेट फिल्मको छायांकन सकिएपछि हुनेछ।’

निकै उत्साहित देखिएका निर्देशक भट्टराईले फिल्मको कथा अनुसार नै पात्र चयन गरेको जानकारी दिए। यो उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ।

सुनिल र वर्षाका अलावा भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मुख्य भुमिका रहने फिल्ममा रंगकर्मी सुनिलले १३ वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन्।

यस फिल्मको पटकथा र संवाद निर्देशक भट्टराई,अरुणदेव जोशी र देवव्रतले मिलेर लेखेका हुन्।

यो फिल्म माघ २२ गतेबाट काठमाडौंबाट छायाङ्कन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मलाई दीपक बज्राचार्यले खिँच्नेछन्। यस फिल्मका निर्देशक भट्टराईले १० वर्ष अघि सति प्रभामाथिको कथामा आधारित फिल्म ‘झोला’ निर्माण गरेका थिए। उक्त फिल्म सन् २०१४ को ओस्कर अवार्डको लागि नेपालका तर्फबाट सिफारिस समेत भएको थियो।

माघ ५, २०८० शुक्रबार १२:०२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।