लगातार ४ फिल्म साइन गरेर होहल्ला मात्र गर्दै बसिरहेकी अभागी नीति शाह : ‘खजुरे ब्रो’ त नरोकिएला नि?

लगातार ४ फिल्म साइन गरेर होहल्ला मात्र गर्दै बसिरहेकी अभागी नीति शाह : ‘खजुरे ब्रो’ त नरोकिएला नि?

काठमाडौं : नेपाली सिनेनगरीमा ४ वटा फिल्म साइन नगरेर पनि डेब्यु गर्न नसकेकी अभिनेत्री हुन् नीति शाह।

उनले एकपछि अर्को फिल्म ‘हुतुतु’, ‘एक्स ९’,  ‘क्यामिनो’ र ‘रावायण’मा साइन् गरिन्। तर, साइन गरे जति कुनै पनि फिल्म बनेनन्।

उनको नाम जोडिएका अधिकांश फिल्म लफडामा परे। उनले पछिल्लो समय खेल्ने भनिएको फिल्म ‘रावायण’मा अनमोल केसीले पेस्की लिएर नखेल्ने भनेपछि जेलसम्म पुग्नु परेको थियो। ती भन्दा अघिका फिल्म निर्माता र निर्देशक बीचको किचलोले बन्न सकेनन्।

आफू अनुबन्ध भएको फिल्म नबने पनि नीतिको नामको अगाडि अभिनेत्रीको ट्याग लाग्न थालेको थियो। उनको काम भन्दा बढी हल्ला थियो।

तर, उनले यस पटक भने निकै बुद्धि पुर्याइछन्। फिल्म ‘खजुरे ब्रो’मा अनुबन्धको कुरा बाहिर ल्याइनन्। उनकै योजनामा हो या निर्माण टिमको चलख्याई हो फिल्म ‘खजुरे ब्रो’को काठमाडौंको सिन जति सुटिङ सकाएपछि मात्र हल्ला गरियो।

पुष २७ गतेबाट काठमाडौंका विभिन्न स्थानमा सुटिङ गरिएको फिल्मको माघ १ गते घोषणा गरियो। निर्देशक सुरज सुनुवारको चलख्याई हो या नीतिको काठमाडौंको सिन सकाएपछि बल्ल फिल्म बन्ने भो भन्ने आत्मविश्वासले हो, माघ १ गते धुम्बाराहीस्थित स्मार्ट मल पार्टी प्यालेसम फिल्मको घोषणा गर्दै कलाकारको बारेमा जानकारी दिइयो।

सोही कार्यक्रममा उपस्थित भएकी अभिनेत्री नीति शाहले दस वर्ष अघि फिल्म ‘ड्रिम्स’मा काम नगरेको हुनाले पछुतो लागेको कुरा घुमाउरो पारामा गरिन्। १० वर्ष अघि भुवन केसीले फिल्म ‘ड्रिम्स्’मा अफर गरेको तर आफूले नखेलेको बताइन्। त्यो फिल्म खेलेको भए यतिबेला १० वर्ष भइसक्ने भन्दै उपस्थित सबैलाई हँसाइन्।

उनले आफूलाई फिल्मका बारेमा त्यति जानकार नभएको हुनाले काम नगरेको स्वीकार गरिन्।

उनी भन्छिन्, ‘सायद ‘ड्रिम्स’ होला, त्यतिबेला म बल्ल १२ कक्षा पढ्दै थिएँ। एक दशकै भयो होला। भुवन केसी सरले अप्रोच गर्नुभएको थियो। किनभने उहाँले मेरो ममीलाई चिन्नुहुन्छ। त्यतिबेला फिल्म गर्छु भन्ने आत्मविश्वास थिएन होला। इमान्दारीपूर्वक भन्नुपर्दा नेपाली फिल्म उद्योगबारे एक्सपोजर पनि धेरै थिएन।’

उनले थपिन्, ‘फिल्ममा काम नगर्दा पढाइमै फोकस हुन्छु भनेर पहिलो प्रस्ताव अस्वीकार गरेको थिएँ। त्यतिबेला नै स्वीकार गरेको भए सायद फिल्म इन्डस्ट्रीमा मेरो १० वर्ष हुन्थ्यो होला। ढिलो भयो तर, राम्रो भयो भन्छन्।’

फिल्म पत्रकारले तपाई अझै फिल्ममा काम गर्नुहुन्छ कि यतिमै रोकिन्छ भन्ने प्रश्नमा उनले निरन्तरता दिने बताइन्।

स्क्रिप्ट राम्रो र सन्देशमुलक भए आफू फिल्म खेल्ने बताइन्। पढाइ पनि सकिएको र नेपाली फिल्म पनि बुझेको हुनाले अब आएका फिल्म जति नछाड्ने उनको तर्क थियो।

बल्ल बल्ल सुरू भएको फिल्म ‘खजुरे ब्रो’ त अब रोकिँदैन होला भन्नेमा ढुक्क देखिएकी नीतिलाई लाग्दो हो, अब सुटिङ नै सुरू भइसकेको फिल्म त नरोकिएला नि?

माघ २, २०८० मंगलबार ११:४५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।