बिराजले छोरोको सिक्स प्याकवाला फोटो देखाउँदै भने ‘१२ गाउँमा डेब्यु’

बिराजले छोरोको सिक्स प्याकवाला फोटो देखाउँदै भने ‘१२ गाउँमा डेब्यु’

काठमाडौं : चार वर्ष अघि फिल्म ‘साङ्लो’ निर्माण गरेका बिराज भट्ट दोस्रो फिल्मको सुरसारमा जुटेका छन्।

डेब्यु निर्देशनमा बनेको उनको फिल्म ‘साङ्लो’ हिट भएपछि वर्षेनी एउटा भएनी फिल्म दर्शकमाझ पस्किने उनको मनसायमा तुसारापात तब भयो, जब पहिलो पटक निर्देशन गरेको फिल्म नै फ्लप भयो।

पहिलो फिल्म नै डुबेपछि विराजलाई दोस्रो फिल्म घोषणा गर्न नै चार वर्ष पर्खिनु पर्यो। आफै मुख्य भूमिकामा अभिनय गरेको र निर्देशन गरेको फिल्म असफल भएपछि दोस्रो बन्न लागेको फिल्ममा उनले छोरालाई डेब्यु गराउने घोषणा गरेका छन्।

छोराको सिक्स प्याकवाला, बडी बिल्डर फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै बिराजले अब बन्ने फिल्ममा छोरालाई डेब्यु गराउन लागेको जानकारी दिएका छन्। सिक्स प्याकवाला फोटो देखाउँदै लेखेका छन, ‘१२ गाउँबाट डेब्यु गर्दै। जय नेपाल, जय नेपाली सिनेमा!’

उनको आशय छोरोको सिक्स प्याकवाला फोटोले राम्रै प्रतिक्रिया पाउँछ भन्ने छ। त्यस कारण पनि उनले फिल्मको मुख्य अभिनेतामा छोरालाई डेब्यु गराउन लागेका छन्।

उनी आफैले निर्देशन गर्न लागेको फिल्ममा छोरो समीर भट्टलाई अगाडि सारेका छन्। बिराज आफैले निर्देशन गर्ने फिल्मका अन्य कलाकारको छनोट गर्न बाँकी रहेको छ।

समिर केही वर्ष यता भारतमा बसेर मार्सल आर्ट, नृत्य र अभिनय सिकिरहेका थिए। एक्सन अभिनेताका रुपमा परिचित बिराजले छोरोलाई पनि एक्सनकै रुपमा उतार्न लागेका हुन्।

विराज भट्ट फिल्म प्रोडक्सन द्वारा दोस्रो प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म आगामी फागुनबाट छायांकनमा जाने तयारी रहेको छ।

यो फिल्ममा सन्तोष सरकारले कथा तथा पटकथा लेखेका हुन्।

पुष २९, २०८० आइतबार १६:०४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।