सहकारी अध्ययन गर्न बागमती प्रदेश सरकारले गठन गर्‍यो समिति, उद्देश्य बचतकर्ता जोगाउने कि सञ्चालक !

सहकारी अध्ययन गर्न बागमती प्रदेश सरकारले गठन गर्‍यो समिति, उद्देश्य बचतकर्ता जोगाउने कि सञ्चालक !

मकवानपुर : गीतेन्द्रबाबु(जीवी) राई समूहले सहकारीमार्फत बचतकर्ताको रकम दुरुपयोग गरेको घटना चरमचुलीमा पुगेकै बेलामा वाग्मती प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। 

जीवी समूहले रकम दुरुपयोग गरेकामध्ये स्वर्णलक्ष्मी र सहारा वाग्मती प्रदेशभित्रका हुन्। बचतकर्ताहरूले आफ्नो बचत फिर्ता नपाएपछि पटक-पटक प्रदेश सरकार गुहार्दा वास्ता नगरेको सरकारले एकाएक आइतबार समिति गठन गरेको हो।

सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठका अनुसार समस्याग्रस्त सहकारी संस्थाहरूको व्यवस्थापनका लागि प्रशान्त अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको हो।

समितिका सदस्यहरूमा काठमाडौँका यज्ञनाथ दाहाल र मकवानपुरका यतीराज सापकोटा छन्।

समस्या ग्रस्त देखिएका सहकारीको व्यवस्थापनका लागि सरकारले केन्द्रीय तहमै यस अगाडि आयोगै गठन गरेको थियो। तर समस्या समाधानको साटो झन् जटिल हुँदै गयो।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले प्रतिवेदन समेत बुझाएको छ। तर सहकारी विभाग लगायतका सरोकारवाला सरकारी निकायले आयोगको प्रतिवेदन थन्काएर राख्यो।

आयोगले सुधीर बस्नेत अध्यक्ष भएको ओरियन्टल सहकारी संस्था,राजेन्द्र शाक्य अध्यक्ष भएको गुण को अपरेटिभ लगायतको अध्ययन गरेको थियो। तर पीडितको समस्या समाधानै नगरी आयोगले काम सक्काएको थियो। अहिलेसम्म पनि ती सहकारीको समस्या ज्युँकात्युँ छ।

आयोगमा १२ हजार उजुरी परेको थियो जसमा १० अर्बको माग दावी परेको थियो। पछिल्लो समय सार्वजनिक भएका सहकारी घोटालामा एकै सहकारीको रकम १२ अर्बमाथिका रहेका छन्। जीवी समूहसँग सात बढी सहकारी रहेका छन् जसमा बचतकर्ताहरूको १६ अर्ब बढी रकम फसेको देखिन्छ।

अहिले जीवी समूहविरुद्ध पोखरा र वीरगन्जमा अदालतमा मुद्दा पुगिसकेको छ। चितवनमा सहारा, बुटवलमा सुप्रीम र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताहरूले आफ्नो बचत पाउन सकेका छैनन्। जीवी समूहमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राप्रपाका नेतासम्म जोडिएका छन्।

पुष २२, २०८० आइतबार २२:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।