नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैन: महासंघ अध्यक्ष ढकाल

नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैन: महासंघ अध्यक्ष ढकाल

 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीतिगत र व्यावहारिक सहजता हुने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन्।

कोहलपुर उद्योग वाणिज्य संघको दसौँ वार्षिक साधारण सभा तथा पच्चीसौँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि सरकारसँग आफूहरूले निरन्तर पहल गरेको बताए।

पछिल्लो समय उद्योग व्यवसायका क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै आफूहरूले सरकारलाई दिएको सुझाव कार्यान्वयन हुनुपर्ने बताए।

अध्यक्ष ढकालले भने, ‘पछिल्लो समय ट्रङ तथा डेडिकेटेड लाइनको महसुल विवादले पनि उद्योगीहरू समस्यामा छन्। उद्योगहरूको डेडिकेटेड र ट्रङलाइनको पुरानो विवाद समाधान नहुँदै लाइन काटिएको छ। यसले औद्योगिक वातावरण बिगार्छ। यसको समाधानका तत्काल एक उच्चस्तरीय आयोग वा संयन्त्रको माग गरेका छौँ।’

उनले थपे, ‘यसरी काटिएको लाइन जोडन र थप नकाट्न म आग्रह गर्छु। यसले रोजगारी र राजश्वमा असर गरेको छ। मन्दीमा रहेको अर्थतन्त्रलाई थप प्रभावित बनाएको छ।’

लगानीका अवसर पहिचान गर्न सक्यौँ भने लगानीको खाँचो नहुने उनले स्पष्ट पारे।

पुष २१, २०८० शनिबार १३:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।