६ दिनपछि शेयर बजारमा करेक्सन, २७.९ अंकले बढेर बजार बन्द
काठमाडौँ : ६ दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार बुधवार २७.९ अंकले बढेर बजार बन्द भयो। बुधवारको वृद्धिपछि नेप्से २०५८ विन्दुमा पुगेको छ। कारोबार रकम मंगलबारकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भयो।
सेन्सेटिभ इन्डेक्स ३.७६ अङ्क बढेको छ भने फ्लोट इन्डेक्स १.८५ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०७ अङ्क बढेको छ। बुधवार ३०६ स्टकको ९६ हजार २५२ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता शेयर कारोबार भएको हो।
मंगलबार सबै समूहका सूचक घटेको थियो। बुधवार भने सबै समूहका सूचक बढ्यो। बुधवार हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो। बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र व्यापार समूह ५ अङ्क बढेका छन्।
बुधवार ९ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पञ्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६, भूगोल इनर्जीको ९.३, माउन्टेन इनर्जीको ८.८, सगरमाथा जलविद्युतका ८.७, नेपाल रिपब्लिक मिडियाको शेयर ८.२ प्रतिशतले बढेको थियो।
लक्ष्मी लघुवित्तको मूल्य ५ प्रतिशतले घट्यो। मनकामना स्मार्ट लघुवित्तको ३.८, समता घरेलु लघुवित्तको २.८ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहेका छन्।
पुष १८, २०८० बुधबार १६:०८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।