तोसिमा कार्कीले भनिन्- भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छ

तोसिमा कार्कीले भनिन्- भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छ
फाइल फोटो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतलाई पदबाट हटाउन माग गरेकी छिन्।

आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले अस्पतालहरूमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरूमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टीकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गरिन्।

पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेकी सांसद कार्कीले हुँदै नभएको आधारभूत अस्पतालहरूको सामान खरिद प्रकरणमा करोडौँको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने बताइन्।

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्बसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनी पटक-पटक प्रश्न समेत गरिन्।

उनले कानुन विपरीत कर्मचारीहरू हटाएर मन्त्री बस्नेतले वीर अस्पताल लगायतका अस्पतालका बिरामीहरूको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाइन्।

सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निःशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौती गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताइन्।

पुष १७, २०८० मंगलबार १८:३६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।