डेडिकेटेड र ट्रंकलाइनको विवादले व्यवसायीको मनोबल घट्छ, आयोग बनाई समाधान गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रंकलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
शुक्रबारदेखि चरिकोटमा सुरू भएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र ट्रंकलाइनको विवादले व्यवसायीहरूको मनोबल घट्ने र मुलुकमा लगानीको वातावरण थप बिग्रने बताउँदै उच्च स्तरीय आयोग बनाई यसको तत्काल सम्बोधन गर्नुपर्ने बताए।
समस्यामा रहेको मुलुकको अर्थतन्त्र बिस्तारै सहज हुने अपेक्षा रहेको अहिलेको समयमा फेरि नेपाल विद्युत प्राधिकरण र व्यवसायीहरूबीच देखिएको विवादले अर्थतन्त्रमा थप समस्या सृजना हुन सक्ने बताउँदै उनले यसको तत्काल समाधान गर्न जरूरी रहेको बताए।
उनले उच्च स्तरीय आयोग बनाई अहिलेको समस्याको समाधान गर्न सके यसबाट सधैको लागि यस्ता किसिमका समस्याहरूको समाधान आउने पनि बताए।
अहिले मुलुकको अर्थतन्त्र बिस्तारै सुधार हुने संकेत देखिएको बताउँदै यसका लागि सरकारले पब्लिक कन्फिडेन्स बढाउने खालका कार्यक्रम ल्याउन समेत आग्रह गरे।
पुष १३, २०८० शुक्रबार १६:४३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।