‘यो मन त मेरो नेपाली हो’ को टिम अमेरिका उड्यो, बाँकी छायांकन उतै

‘यो मन त मेरो नेपाली हो’ को टिम अमेरिका उड्यो, बाँकी छायांकन उतै

काठमाडौं : नेपालीपन र नेपाली भाषाको जगेर्ना गर्नका लागि निर्माण भइरहेको फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ८५ प्रतिशत छायांकन सकेर निर्माण टिम अमेरिका फर्किएको छ।

नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरेर बाँकी छायांकनका लागि निर्माण टिम अमेरिका प्रस्थान गरेको हो।

फिल्मलाई नेपाली भुटानी साहित्यकार मित्र प्रधान (नर)ले निर्देशन गरिरहेका छन्।

फिल्मका लेखक शिवम अधिकारीका अनुसार फिल्मको छायांकन नेपालको झापा, इलाम र भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ, पश्चिम बङ्गाल लगायतको स्थानमा ३० दिन खिचिएको हो।

फिल्ममा देखाइने नेपालतर्फको दृश्यको छायांकन खिचेर सकिएपछि निर्देशक तथा अभिनेत्री आयुसा समाल अमेरिका फर्किएका हुन्। उनी मेरो डान्स कप युएसएको फर्स्ट रनर अप हुन्।

लेखक अधिकारीले भने, ‘नेपालको छायांकन सेड्युल अनुसार ३० दिनमा सकियो। नेपालको छायांकन पुरा गरेर बाँकी भाग अमेरिकामा नै खिचिने हुँदा निर्देशक सहितको टिम अमेरिका पुग्नुभयो।’

उनका अनुसार फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल लगायत पनि अमेरिका जाने सम्भावना रहेको छ। अमेरिकामा नै रहेका केही कलाकारले फिल्ममा अभिनय गर्नेछन्।

पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा निर्माण हुँदै गरेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी रहने छ।

फिल्मको कथा निर्देशक मित्रले लेखेका हुन्।

पुष ११, २०८० बुधबार १२:५६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।