नेप्सेले काट्यो दुई हजारको लाइन, कारोबार रकम एक वर्षकै उच्च
काठमाडौँ : गत साताको पहिलो दिनबाट उकालिन थालेको नेप्सेको कारोबार दोस्रो साताको दोस्रो दिन पनि कायमै रह्यो। दोस्रो साताको दोस्रो दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अङ्क बढेर दुई हजार कटेको छ।
सोमबार नेप्से २०६० विन्दुमा पुगेर बजार बन्द भयो। आइतबार ५ अर्ब १५ करोड रूपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ६ अर्ब ८६ करोड रूपैयाँको कारोबार भयो।
सोमबार कुल १ सय ६५ कम्पनीको मूल्य बढेको थियो भने ७२ कम्पनीको मूल्य घट्यो। ५ वटाको मूल्य स्थिर रह्यो। आइतबार हाइड्रोपावर समूहमा सेयरमा आकर्षण देखिएको थियो। सोमबार भने माइक्रोफाइनान्स समूहको सेयरमा लगानीकर्ता आकर्षित भए।
सोमबार माइक्रोफाइनान्स समूह ५.५ प्रतिशतले बढेको थियो। बैङ्किङ क्षेत्रको सेयर २.०, विकास बैङ्क १.८, फाइनान्स २.५, होटेल तथा पर्यटन ३.२, लगानी ३.१, उत्पादन २.८, अन्य १.६ र व्यापार समूहको सेयर ०.८ प्रतिशतले बढेर बजार बन्द भएको थियो।
सोमबार बोटलर्स नेपाल, सूर्या ज्योति लाइफ इन्स्योरेन्स, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, विपिडब्लु लघुवित्त, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेरुडे लघुवित्त र धौलागिरि लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन जाल्पा लघुवित्त, मेरो माइक्रोफाइनान्स, किसान लघुवित्त र गुडविल फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको थियो।
कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २६ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २० करोडभन्दा बढीको सेयर कारोबार भयो।
सबै उपसमूहको परिसूचक बढ्दा जलविद्युत उपसमूह भने घट्यो।
पुष २, २०८० सोमबार १५:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।