शेयर बजार उग्र बन्दा पटक-पटक सकारात्मक सर्किट ब्रेक, मौद्रिक नीतिको प्रभाव कि चलखेल!

शेयर बजार उग्र बन्दा पटक-पटक सकारात्मक सर्किट ब्रेक, मौद्रिक नीतिको प्रभाव कि चलखेल!

काठमाडौँ : आइतबार सेयर बजारमा ३ पटक सकारात्मक सर्किट ब्रेक लाग्यो। बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतको सकारात्मक सर्किट ब्रेक लागेपछि २० मिनेटको लागि कारोबार रोकिएको थियो। ११ बजे खुलेको बजारमा २ मिनेटमै ५ प्रतिशतले बजार बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेर ४० मिनेट कारोबार स्थगित भएको थियो।

त्यसपछि १२ बजेर ७ मिनेटमा पुनः खुलेको बजार ६ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर कारोबार बन्द भयो।

सर्किट ब्रेक सम्बन्धी व्यवस्थाअनुसार कारोबार भएको १ घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटेको वा बढेको अवस्थामा २० मिनेट कारोबार रोकिन्छ। २ घण्टामा ५ प्रतिशतले बढे, घटेको अवस्थामा ४० मिनेट कारोबार रोक्का गरिन्छ।

त्यस्तै, कारोबार भएको तेस्रो घण्टामा कारोबार ६ प्रतिशतले बढे वा घटेको अवस्थामा सो दिनको कारोबार बन्द हुने व्यवस्था रहेको छ। सोही अनुसार आइतबार भएको कारोबारमा तेस्रो पटकसम्म पनि सर्किट ब्रेक लाग्दा कारोबार बन्द भयो।

आइतबार सेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलव    २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव    ९८ विन्दुमा पुगेको थियो। आइतबार १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार बराबरको कारोबार भयो। २ सय २७ कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको सेयर मूल्य घट्यो। एउटा कम्पनीको सेयर मूल्य स्थिर भयो। ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ३० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्यो

आइतबार बिमा, होटेल तथा पर्यटन, विकास बैङ्क, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, हाइड्रोपावर, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले बढ्यो। रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो, शुभम् पावर र कालिन्चोक दर्शनको शेयर १० प्रतिशतले बढ्यो। शेयर बजारमा सर्किट ब्रेक लागेको दिन जम्मा ५ वटा कम्पनीको शेयर सामान्य घटेको छ।

मौद्रिक नीतिको प्रभाव कि चलखेल !

शुक्रवार मात्रै राष्ट्र बैँकले ब्याजदर घटाउने गरी सेयर धितो कर्जा तथा घरजग्गा धितो कर्जाको जोखिम भारलाई घटाएर चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको थियो। यसैको प्रभावले लामो समयदेखि निरन्तर १८ सय वरिपरि केन्द्रित भएको नेप्से सूचक आइतबार एकाएक उछाल आयो।

शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लगानीकर्तामा उत्साह देखियो। मौद्रिक नीतिमा शेयर बजारमैत्री कुनै नीति आउँदा अनि ब्याजदर तलमाथि हुँदा बजारमा त्यसको प्रभाव देखिने गरेको छ। यस्तो बेलामा सेयर बजारका खेलाडीहरूले आफू अनुकूल नतिजा निकाल्न चलखेल समेत गर्ने भएकाले सेयरका जानकारहरू विशेषगरी साना लगानीकर्ताहरूलाई यस्तो बेलामा नमात्तिन सुझाव दिने गरेका छन्।

मंसिर २४, २०८० आइतबार २०:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।