गौशालामा प्रसाईँको सर्प्राइज आन्दोलन, विवादित धर्मगुरु श्रीनिवास पक्राउ

गौशालामा प्रसाईँको सर्प्राइज आन्दोलन, विवादित धर्मगुरु श्रीनिवास पक्राउ

काठमाडौँ : ऋण मिनाहा र व्यवस्था परिवर्तनको माग राख्दै आन्दोलन सुरु गरेको दुर्गा प्रसाईँ समूहले सोमबार एकाएक काठमाडौँको गौशालामा सर्प्राइज आन्दोलन गर्यो।

आन्दोलन गर्न प्रसाईँ धर्मको आडमा अराजक गतिविधि गर्दा पक्राउ पर्दै छुट्दै गरेका आचार्य श्रीनिवास पनि गौशाला पुगेका थिए। हातमा त्रिशुल बोकेका उनी केही बटुकसहित आएका थिए।

हिंसात्मक अभिव्यक्ति दिएर पक्राउ पर्दै छुट्दै आएका उनी सोमबार पनि पक्राउ परे। उनले उत्तेजक अभिव्यक्ति दिएर हिंसा फैलाउने प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो। उनीसँगै प्रदर्शनमा संलग्न १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रदर्शनमा ऋण मिनाहा हुने आसमा मधेसका विभिन्न जिल्लाबाट आएका महिला, विभिन्न धार्मिक सङ्गठनका व्यक्ति सहभागी थिए। उनीहरूले तोडफोड र ढुङ्गा प्रहार समेत गरेका थिए।

प्रसाईँले मङसिरबाट राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा आन्दोलन गरिरहेका छन्। सात गते बल्खुमा शक्ति प्रदर्शन गरेका उनले आठ गते तीनकुनेमा प्रदर्शन गर्न खोजेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो।

नौ गते सिफल चौरमा गरेको प्रदर्शन प्रभावहीन भएपछि अब सांस्कृतिक कार्यक्रमसहित प्रदर्शन गर्ने दाबी गरेका उनको समूहले सोमबार एकाएक गौशालाबाट विमानस्थल जाने बाटोमा अवरुद्ध गर्दै प्रदर्शन गरेको हो।

११ मंसिर, २०८०, १७:५९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।