भस्मे डन टिमले बल्ल स्विकार्यो कमजोरी : कमाई कमजोर, पात्र छरिए, कथा अधुरो

भस्मे डन टिमले बल्ल स्विकार्यो कमजोरी : कमाई कमजोर, पात्र छरिए, कथा अधुरो

काठमाडौं : चलचित्र पशुपतिप्रसाद २ भष्मे डनको टिमले फिल्म रिलिज भएको तेस्रो साता कटेपछि मात्र आफ्नो कमजोरी स्विकारेको छ।

पशुपतिप्रसादको हाइपले भस्मे डनप्रति दर्शकमाझ बढेको जिज्ञासालाई ब्यापारमा बदल्न निर्माण टिमले कमजोर फिल्मलाई सुपरहिट भन्दै प्रचार गरे पनि दर्शकले भ्रम छरेको अनुभव गर्दा व्यापार सोचेजस्तो भएन। लगभग हलबाट फिल्म बाहिरिने मोडमा आएर उनीहरूले कमजोरी स्विकारे।

ट्विस्ट अनी तेस्रो सिक्वेल बनाउने लोभमा भद्रगोल फिल्म बनाएको टिमले पशुपतिप्रसाद ३ बनाउने घोषणा समेत गर्यो। भस्मे डन फिल्म यति कमजोर बन्नुमा निर्माण टिमको तेस्रो सिक्वेलको लोभ प्रस्टै देखिएको थियो। दोस्रो सिक्वेल हलमै रहँदा भएको तेस्रो सिक्वेलको घोषणाले उनीहरूको छटपटी देखियो।

फिल्मका लेखक तथा मुख्य कलाकार खगेन्द्र लामिछानेले दोस्रो सिरिजमा थुप्रै पात्र छरिएको स्विकार गर्दै यी सबै पात्रलाई एक ठाउँमा समेट्न तेस्रो सिक्वेल बनाउन लागेको बताए।

प्राविधिक रुपमा कुनै कमजोरी नहोस् भनेर ध्यान दिएको र राम्रो फिल्म बनाउने प्रयास गरेको भन्दै उनले सिक्वेल पहिलो जस्तो नहुने तर पशुपतिप्रसादकै अनुरूप अपेक्षा गरिदिँदा केहीलाई फिल्म मन नपरेको उनले दाबी गरे।

उनले फिल्म हेर्ने दर्शकबाट आएको प्रतिक्रिया शिरोधार्य गरेको बताउँदै भने’ सिनेमा मेकिङ कहिल्यै पूर्ण र पर्फेक्ट हुन्न। हरेकचोटी नयाँ भएर इमानदार प्रयास गर्ने हो।’

भस्मे डनका निर्देशक दीपेन्द्र के खनालले  शुक्रवारको पत्रकार सम्मेलनमा भस्मे डनले थुप्रै प्रश्नहरु छाडेको बताए। उनले ती प्रश्नको जवाफ दिन तेस्रो सिक्वेल बनाउन आवश्यक रहेको उनको तर्क थियो।

उनले बारम्बार फिल्मबारे भ्रम छर्न नखोजेको र इमान्दार प्रयास गरेको दाबी गर्दै फिल्म हेर्ने ७० प्रतिशत दर्शकले फिल्म मन पराएको दाबी गरे। १० प्रतिशतले ठिकठिकै भनेको र २० प्रतिशतले मन नपराएको दाबी गरे।

उनको यो सर्भेको आधार उनले भेटेका दर्शकको प्रतिक्रिया रहेछ।’कथा हामीले नै सुरु गरेका थियौँ। त्यसलाई बिट मार्ने काम पनि हाम्रै हो’ उनले तेस्रो सिक्वेल किन भन्नेबारे प्रस्ट्याए।

लगानी उठ्न कठिन

भस्मे डनको निर्माता खगेन्द्र आफैँ हुन्। फिल्म रिलिज हुनु अगाडि निर्माण टिमले चार करोड लगानी भएको दाबी गरेका थिए।

फिल्मका वितरक अशोक शर्माले पशुपति प्रसाद २ः भष्मे डनले अपेक्षा गरे अनुसारको व्यापार नगरेको स्विकार गरे। निर्माण टिमले जारीको २० करोड व्यापार ब्रेक गर्ने प्रेडिक्सन गरेको देखिएको थियो।

तर शर्माले खुलाए अनुसार शुक्रवारसम्म साँढे सात करोडदेखि आठ करोडसम्मको ग्रस कलेक्सन भएको छ। लगानी नढाँटेको भए ग्रस कलेक्सनको आधारमा लगानी उठ्न कठिन छ। विदेशमा फिल्मको व्यापार चौपट भएको देखियो।

सबैभन्दा ठुलो नेपाली दर्शक रहेको मिडिल इस्टमा वितरकको प्रचार गरेको पैसा समेत उठेन। जापान, अष्ट्रेलीया, अमेरिकामा पनि फिल्मको व्यापार चौपट देखिएको थियो।

शर्माले फिल्मको पोस्टरको पैसा उठाउन पनि गाह्रो रहेको बेलामा यसले गरेको व्यापारलाई सुखद मान्नुपर्ने बताएका थिए।

कात्तिक २५, २०८० शनिबार १४:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।