महिला भन्दा पुरुषलाई मस्तिष्कघातको जोखिम बढी

महिला भन्दा पुरुषलाई मस्तिष्कघातको जोखिम बढी

मस्तिष्कघात अर्थात् स्ट्रोक रक्त प्रवाहमा अवरोध भएपछि हुने समस्या हो। मस्तिष्कको कुनै पनि भागमा रक्तनली बन्द भएर वा रक्तनली फुट्नाले स्ट्रोक हने गर्दछ। यो अवस्था केही मिनेटसम्म रहिरहेमा मष्तिष्कका कोशिकाहरु मर्छन र समयमै उपचार नपाएको खण्डमा बिरामीको ज्यान समेत जान सक्दछ। मस्तिष्कघात भएका धेरै जसो बिरामीलाई पक्षघात पनि हुने हुँदा यस रोगलाई पक्षघात, लकुवा अथवा प्यारालाइसिस जस्ता नामले पनि सम्बोधन गर्ने गरिन्छ। पक्षघात भएको ४/५ घन्टाभित्र उपचार गर्न सकेमा मात्रै बिरामीको ज्यान जोगिन सक्छ साथै स्ट्रोकको जटिलताबाट पनि बचाउन सकिन्छ। त्यसैले पक्षघातको कुनै पनि लक्षण देखिएमा बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पुर्याइ उपचार सुरु गर्नुपर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वम्भर हरेक वर्ष करिब एक करोड पचास लाख मानिसहरू यसबाट ग्रसित हुने गर्दछन् जसमध्ये पचास लाख मानिसले ज्यान गुमाइरहेका हुन्छन् भने पचास लाख  मानिसहरु शारीरिक रुपले अशक्त बन्न पुग्दछन्। हरेक ४ जना मध्ये १ जनालाई आफ्नो  जीवन अवधिमा मस्तिष्कघात देखापर्दछ। वर्षेनी यो समस्या बढ्दै गइरहेकाले हाल यो रोग विशवभर मृत्युको दोस्रो ठूलो कारण बन्न पुगेको छ।

पक्षघात दुई प्रकारको हुन्छ। पहिलो- स्केमिक स्ट्रोक जहाँ मस्तिष्कमा भएका रक्तनलीहरुमा अन्य कुराहरु जस्तै बोसो(कोलेस्टेरोल), रगतको चोक्टा गएर जम्मा भइ रक्तनली बन्द गरिदिन्छ। यसले गर्दा मस्तिष्कमा भएका तन्तुहरु मर्न जान्छन् अनि काम गर्न छाड्छन् र त्यसै अनुसार लक्षणहरु देखा पर्दछ।

दोस्रो- हेमोरेजिक स्ट्रोक जहाँ रक्तनली उच्च रक्तचापले गर्दा फुट्छ । प्राय उच्च रक्तचाप भएका व्यक्तिहरुले चिकित्सकको परामर्श अनुसार औषधि सेवन नगरेमा हेमोरेजिक स्ट्रोक हुन्छ। पक्षघातका बिरामीमध्ये ८० प्रतिशतलाई इस्केमिक स्ट्रोक हुने गर्दछ भने बांकी २० प्रतिशतलाई हेमोरेजिक स्ट्रोक हुने गरेको छ। पक्षघातको शल्यक्रिया पश्चात पनि बिरामीले पुरानै अवस्थाको जीवन बाँच्न नसक्ने भएकाले हृदय घात भन्दा पक्षघातलाइ अझै बढी जटिल समस्याका रुपमा लिइन्छ।

मस्तिष्कघातका प्रमुख लक्ष्णहरु के के हुन?

समयमै उपचार नभए ज्यान नै जाने भएकाले मस्तिष्कघात हुन लागेको वा भएको बिरामीलाई लक्षण देखिनासाथ छिटै अस्पताल पुर्याउन अत्यन्तै जरुरी छ । जसका लागि मस्तिष्कघातका लक्षण, कारण र बच्ने उपाय थाहा पाउन अत्यावस्यक रहन्छ। मस्तिष्कघातका प्रमुख लक्ष्णहरु :

BE FAST

B- Balance loss ( शारीरिक सन्तुलन गुमाउनु)

E- Eyes vision loss ( आँखा धमिलो हुनु वा ज्योती गुमाउनु)

F- Face Unevenness ( अनुहार बाँगो हुनु )

A- Arm weakness ( शरीरको एक भाग झम्झमाउनु वा दुख्नु)

S- Speech slurred ( बोली लर्बराउनु वा बोल्न नसक्नु)

T- Timely Intervention ( समयमै उपचार गराउनु)

यी लक्ष्णहरु मध्ये कुनै एक लक्षण अचानक देखिएमा तुरुन्तै अस्पताल लगेर उपचार गर्नुपर्छ। समयमै उपचार भएमा बिरामीलाई प्यारालाइसिस हुन बाट र अन्य समस्याबाट बचाउन सकिन्छ।

मस्तिष्कघातका प्रमुख कारणहरु: 

निष्क्रिय जीवनशौली , व्यस्त जिन्दगी , मानसिक तनाब, चिन्ता, धुम्रपान, लागूपदार्थ सेवन र मदिरा पान आदिलाई प्रमुख कारण मानिन्छ,

त्यस्तै मधुमेह, मोटोपन , मुटुरोग , उच्च रक्तचाप, कोलेस्ट्रोलको मात्रा अत्याधिक बढी भएका व्यक्तिहरूमा पक्षघातको जोखिम बढी हुने गर्दछ,

उमेर बढ्दै जाँदा उच्च रक्तचाप, मस्तिष्कघात र अन्य रोगको जोखिम बढ्दै जान्छ ,

महिलामा भन्दा पुरुषमा पक्षघातको बढी जोखिम देखिन्छ।

परिवारमा एक जनालाई पक्षघातको समस्या भएमा अन्य सदस्यलाई पनि पक्षघात हुने सम्भावना रहन्छ।

टाइप 'ए' व्यक्तिहरूमा ( धेरै जोखिम लिइ उच्च उपलब्धि हासिल गर्ने स्वभावका व्यक्तिहरु)

मुटु तथा रक्तनली सम्बन्धी समस्या जस्तै एथेरोस्केलेरेसिस्, डिपभेन थ्रोम्बोसिस् र एन्युरिजम भएका मानिसहरुमा मस्तिष्कघातको जोखिम धेरै हुन्छ।

मस्तिष्कघातबाट बच्ने उपायहरु :

दैनिक रुपमा शारीरिक व्यायाम तथा कसरत गर्ने , तौल नियन्त्रणमा राख्ने। तर असाध्यै जोखिममा परेका व्यक्तिले कठिन कसरत गर्नुहुँदैन,

धुम्रपान, सुर्तीजन्य पदार्थ , जाँड रक्सीको सेवन नगर्ने,

स्वस्थ जीवन जिउने, स्वस्थकर खाना खाने, धेरै गुलियो , नुनिलो, चिल्लो खाना कम गर्ने , साग सब्जी, सलाद फलफुलहरुमा प्राथमिकता दिने ,

धेरै चिन्ता र तनाव नलिने, दैनिक रुपमा धयान गर्ने , योगा गर्ने ,

४० वर्ष उमेर कटेका व्यक्तिहरूले समयसमयमा स्वास्थ्य परीक्षण गराउने, चिसोबाट जोगिने। चिसोले रक्तनलीलाई साँघुरो बनाएर रक्तचाप बढाई मस्तिष्कघात समस्या निम्त्याउन सक्छ।

माथी उल्लिखित कुनै पनि लक्षणहरु अचानक देखिएमा बिरामीलाई जतिसक्दो चाडो अस्पताल पुर्र्याई समयमै उपचार गराउनु पर्दछ। स्वस्थकर खानपान र दैनिक रुपमा शारीरिक व्यायाम गर्नाले मस्तिष्कघात, हृदयघात जस्ता रोगबाट आफुलाई र आफ्नो परिवारलाई बचाउन सकिन्छ। अहिले २०२३ अक्टोवर २९ विश्व मस्तिष्कघात दिवसको नारा " टुगेदर वुई आर, ग्रेटर देन स्ट्रेक " रहेको छ अर्थात सम्पूर्ण मानिसहरु एकजुट भई मस्तिष्कघात बारेमा जनचेतना फैलाउने र आफ्नो जीवनशैलीलाई राम्रो रखेमा मस्तिष्कघातमाथी विजय पाउन सकिन्छ।

-(लेखक एमबीबीएस, चौथो वर्षमा अध्यनरत छन् ।)

कात्तिक १२, २०८० आइतबार १०:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।