गणतन्त्र भित्र म कहाँ छु?

गणतन्त्र भित्र म कहाँ छु?

प्रजातान्त्रिक आन्दोलन, सशस्त्र द्वन्द्व, संघियता गरेर देशले पटक पटक व्यवस्थामा काँचुली फेरेको छ। प्रत्येक पटक  फेरिएको व्यवस्थाले नयाँ आशाको। जन्म पनि गरायो। नयाँ व्यवस्थामा अवस्था बदलिने आशा गर्नु नाजायज पनि हैन।

आम नागरिकले शान्ति सुरक्षा, गाँस र बाससँगै सहज जीवयनयापनको सपना देखेँ। सपनाको जग त्यही परवर्तनै थियो। तर, फेरिएको व्यवस्था(गणतन्त्र)ले आम नागरिकको अवस्था बदल्न सकेन।

अवस्थाबारे लेखिरहँदा मलाई विगत याद आयो। बाल्यकालमा फर्किएँ म।

भोक लाग्यो भनेर बेस्सरी सताएपछि आमा अत्तालिँदै भन्दै थिइन, ‘कहिले सकिएला यो समय र शान्तिले कुटोजिलो गरि खाउँला।’

उनी रोजीरोटी सहज हुने दिनको पर्खाइमा थिइन्। सन्तानको भोक सहजै मेट्न सक्ने अवसरको पर्खाइमा थिइन्।

मेरो बाबाको पेशा आरन थियो जसले सम्पूर्ण परिवारको पेट भर्नुप¥थ्यो। आँगनमा रहेको आरनले माओवादी द्वन्द्वकालमा माओवादी लडाकुलाई सहयोग गरेको भन्दै बाबा, काका लगायत घरका सबै पुरुष सेनाको हिरासतमा पुगे।

गणतन्त्रले पिँधमा रहेका समुदायलाई आर्थिक, राजनीतिक र सामाजिक अधिकार सम्पन्न बनाउन सकेन। समावेशी समाज शब्दमा लेखियो। तर, व्यवहारमा कार्यान्वयन हुनै सकेन।

घरमा आमा, दिदि, काकीसहितका महिला मात्रै। एकातिर मृत्युको डर अर्कोतिर सेनाको त्रास। रुनलाई आँशु अनि बोल्नलाई शब्द हराएको पल थिए ती। तै पनि आमा एक दिन ढुक्कले भोक टार्न सकिने दिन आउँछ भन्नेमा आशावादी थिइन्।

मेरो बाल मस्तिस्कले त्यो बेलामा के भएछ भनेर छुट्याउन सकेको थिएन। त्यतिबेला छुटाउने नसकेका ती पहेली अहिले फुकाइरहेछु।

अहिले सम्झँदा कति ठूलो भ्रममा बाँचिछिन् मेरी आमा भन्ने लाग्छ। व्यवस्था बदलिने छ अनि फेरिएको व्यवस्थामा आफ्नो अवस्था पनि फेरिने आशामा रहेकी मेरी आमाको त्यो आशा पूरा भएन।

जति पटक नेपालको राजनीतिक व्यवस्था परिवर्तन भए, त्यतिपटक नागरिकमा नयाँ आशका किरणहरू पलाउनु स्वभाविक नै थियो। तर, जति व्यवस्था फेरिए पनि आम नागरिकको दैनिक जीवन फेरिएन।

फेरिएको व्यवस्थासँगै पलाएको नागरिकको आशा र भरोसालाई राजनीतिक दलका प्रतिनिधिहरूले फुटबल बनाइदिए। गणतन्त्र, संघियता, संविधान। यी शब्द जति ओजनदार छन् त्यतिकै महँगा भए।

यी शब्द भित्र ‘म’ जस्ता आम ‘म’हरूको जीवन प्राथमिकतामा पर्नुपर्ने थियो। तर, परेन।

जात व्यवस्थामा आधारित नेपाली समाज पितृसत्ताद्वारा सञ्चालित छ। सामाजिक संरचना विभेदको जालोले भरिएको छ। जातीय छुवाछुत, भेदभाव, महिला हिंसाले पिल्सिन बाध्यहरूको संख्या घटेको छैन, उल्टो बढिरहेको छ।

बहिष्करणको पराकाष्ट र छुवाछुत समेत लादिएर इतिहासदेखि आजसम्म पिँधमा पिल्सिएको दलित समुदाय सबै खाले अधिकार र राज्यको अवसरबाट बन्चित छन्।

गणतन्त्रले पिँधमा रहेका समुदायलाई आर्थिक, राजनीतिक र सामाजिक अधिकार सम्पन्न बनाउन सकेन। समावेशी समाज शब्दमा लेखियो। तर, व्यवहारमा कार्यान्वयन हुनै सकेन।

यहाँ व्यवस्थाले थिचेका हजारौं सपनामध्ये एक सपना मेरो पनि हो। हिजो मेरी आमा दैनिक आवश्यकता टरोस् भन्ने संघर्षमा जसरी होमिएकी थिइन्, म पनि त्यसरी नै होमिएको छु। त्यो परिवर्तनको के अर्थ?

राणाकाल, प्रजातन्त्र, पञ्चायत, लोकतन्त्र अनि गणतन्त्र के शब्द मात्रै हुन्? शब्द मात्रै हैन गणतन्त्र। तर, व्यवहारमा यो शब्दभन्दा फरक देखिएन। आम नागरिकको जीवनमा सामान्य परिवर्तन समेत गर्न नसक्ने शब्दको के अर्थ।

आजको समाजमा म पनि मान्छे हुँ भन्नुपरिरहेको छ। समग्रमा म मेरो देश खोजिरहेछु। जब अहिले पनि म जस्ताहरू देश खोज्न बाध्य छन् भने यो परिवर्तनको के अर्थ?

पञ्चायतमा महिला जसरी पिल्सिएका थिए गणतन्त्रमा पनि अवस्था उही। दलित, जनजाती, पिछडिएका वर्गको अवस्था उस्तै।

हिजो राज्यस्रोतमा जसको हालिमुहाली चलेको थियो अहिले पनि त्यही वर्गकै बोलबाला छ। जातीय, लैङ्गिक, क्षेत्रीय विभेदको स्वरूप झन् जटिल बन्दै गएको छ।

महिलाहरू अझै दोस्रो दर्जाकै नागरिक बन्न बाध्य छन्। आफूले जन्माएको सन्तानलाई सरकारले दिने परिचय पत्रमा आफ्नो नाम राख्न पनि संघर्ष गर्नुपर्ने कस्तो गणतन्त्र?

एक नेपालीको सरदर औसत आयु ७० वर्ष हुँदा दलितको औसत आयु करिब ६० वर्ष छ। मेरो समुदायको औसत आयुमै किन विभेद?

समाज बदल्छु भनेर आउने नेताहरू अहिले पनि सामाजिक सञ्जालमा दलितलाई पानी दिएर त्यही भाँडोबाट पानी खाएर परिवर्तनको सन्देश दिने प्रयास गरिरहेका छन्। यो कस्तो परिवर्तन? यो कस्तो सोच?

हामी विज्ञान र प्रविधिको युगमा छौँ। विश्वग्राम र स्मार्ट भिलेजको कुरा गर्छौँ। दिगो विकासका सुनौला लक्ष्यबारे बहस गर्छौँ।

तर सोचको अवस्था?
एक व्यक्तिले दलितले छोएको खानु, दलितसँगै भान्छा साझा गर्नु नै परिवर्तन हो भन्ने पुरातन सोच अहिलेको पुस्तामा पनि उस्तै छ भन्ने बलियो प्रमाण हो। अहिलेकै पुस्ताले त पानी चल्नुलाई नै परिवर्तन भएको स्वीकार्नुपर्ने अवस्था छ भने हामीभन्दा अगाडिको पुस्ताले के सम्म भोगे होलान्?

यो व्यवस्था निर्माणमा कुनै एक वर्गको मात्र योगदान छैन। विशेष गरी भुइँ तहका नागरिकको बढी योगदान छ। तर, जसको योगदानले परिवर्तन सम्भव भयो हिस्सेदारीमा उनीहरूलाई नै कुना पारिएको छ।

आज पनि म आत्मसम्मान खोजिरहेछु। आजको समाजमा म पनि मान्छे हुँ भन्नुपरिरहेको छ। समग्रमा म मेरो देश खोजिरहेछु। जब अहिले पनि म जस्ताहरू देश खोज्न बाध्य छन् भने यो परिवर्तनको के अर्थ?

८ कात्तिक, २०८०, १२:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।