राजनीति जनता जुधाएर सत्तामा पुग्ने मार्ग मात्र हो ?

राजनीति जनता जुधाएर सत्तामा पुग्ने मार्ग मात्र हो ?

नेपाली समाज पछिल्ला केहि घटनाक्रमहरूले निकै उद्धेलित भएको छ। सामाजिक सञ्जालमा सामाजिक भन्दा पनि असामाजिक र उत्तेजक अभिव्यक्ति छ्यापछ्याप्ती पाइन्छ।

युद्ध मैदानमा सक्षम लडाकुको छवी जस्तै मैदान बाहिर  शालीन समुदायको परिचयले नेपाली समुदाय परिचित छ। विभिन्न जात-जाति र धर्म संस्कृती स्विकार गरेका समूह एकै छानामुनि बस्दा समेत सम्हाल्ने नसक्नेगरि धार्मिक तथा जातीय द्वन्द नहुनु नेपाली समाजको सकारात्मक पक्ष हो। तर पछिल्लो समय यो छवी क्रमश: कमजोर हुँदै गइरहको देखिन्छ।

केहि समयअघि पूर्वी नेपालको धरानमा दुई जातिय र धार्मिक समुदायबीचको द्धन्द्ध शुरू जोखिम बढायो। यसले कतै मिलेर बसेका दुई समुदायविच द्धन्द्ध बढाउने हो कि भन्ने जोखिम बढाएको थियो। धन्न तत्कालका लागि यो जोखिम हट्दै गएको देखिन्छ।

बिराटनगरमा पटक-पटक जारी भएको निषेधाज्ञा, मलंगवामा पर्वको समयमा भइरहेको हिंसा र नेपालगञ्जमा कर्फ्यू र निषेधाज्ञा नै लगाउनुपरेको दृष्यले धार्मिक सहिष्णुताको नमुना मानिने समाज क्रमश: पहिचानको खोजीमा विभाजन र विघटनतर्फ अग्रसर भएको संकेत देखियो।

केहि दिनदेखि नेपाली सामाजिक सञ्जाल अर्को धार्मिक मसलाले तातेको छ, नेपाली शब्दकोषबाट ॐ हटाउने निर्णयविरुद्ध परेको रिट निवेदन। २०६९ सालमा तत्कालीन शिक्षा मन्त्री दीनानाथ शर्माले मन्त्रीस्तरीय निर्णय गरी लागू गरेको वर्ण विन्यासविरुद्ध अधिवक्ता स्वागत नेपाल २०७३ सालमा अदालत गए पनि रिट सुनवाइमा ढिलाइ हुँदै आएको थियो। अहिले आएर सर्वोच्च अदालतले एमिकस क्यूरी मगाएपछि सो प्रकरण पुन: सतहमा आयो।

यहाँ मननिय कुरा के छ भने सञ्चार र सामाजिक सञ्जालको प्रयोग २०६९ तिरैबाट व्यापक हुँदै गइसकेको थियो। तर, अहिले यो प्रकरण किन यति चासो बन्न पुग्यो? कतै परिदृश्यमा घटिरहेको घटनाक्रमहरूले हामीलाई धार्मिक मुठभेडतर्फ अग्रसर गराउने दुराशय त छैन यसमा?

नेपाली समाजको समग्र राजनीतिक र सामाजिक चरित्रलाई हेर्ने हो भने लामो समयदेखि हाम्रो समाजको वर्गीय चरित्र अर्थ राजनीतिकभन्दा पनि सामाजिक र संस्कृतिक रहेको छ। संसारभर समाज विकासको क्रममा समाजभित्र वर्गीय चरित्र स्वत: विकसित हुँदै गएको देखिन्छ। वर्ग चरित्रलाई मुलत: पहिचानले शुत्रपात गर्ने गरेको देखिन्छ इतिहास देखि नै।

प्लेटो र एरिस्टोटल जस्ता दार्शनिकहरूले पहिचानको कुरा दुई हजार वर्षअघि उठाउँदै गर्दा पूर्वीय सभ्यतामा पहिचान र वर्गीय समाजको निर्माण धेरै अगाडि बढिसकेको थियो। दक्षिण पूर्वी एसिया विशेषत: त्यो समयको भारत वर्षमा समाजको चरित्र अर्थ राजनीतिक वर्ग मात्र नभएर सांस्कृतिक र सामाजिक वर्ग विभाजनमा आधारित भइसकेको थियो।

विश्व जगतले समय कर्ममा थुप्रै राजनीतिक र सामाजिक उतारचढाव भोगेको छ, सो क्रममा विज्ञानको फड्को र औद्योगिक क्रान्ति विशेष रह्यो मानव जातिको लागि। मानवले कल्पना मात्रै गरेको वस्तुहरूको सिर्जना गर्न सफल भयो। हिजोको मालिक र दासको सम्बन्ध मालिक र मजदुरको बन्न पुग्यो पश्चिमा जगतमा।

औद्योगिक विकासको यो क्रममै पश्चिमा जगतले अर्थ सामाजिक क्षेत्रमा एउटा संसारै हल्लाउने दर्शन पायो दास क्यापिटलको रूपमा। कार्ल मार्क्स र फेडरिक अन्ग्लेसको दर्शनले संसारलाई नै दुई प्रकारको राजनीतिक व्यवस्था हुनसक्ने मार्गचित्र प्रस्तुत गर्यो। रूसको सफल क्रान्तिपछि संसार पूरै दुई राजनीतिक दर्शनतर्फ अग्रसर हुन थाल्यो र सो प्रवृतिको प्रभावले नेपालमा पनि साम्यवादी दर्शनमा आधारित पार्टीहरू देखा परे।

आफूलाई कम्युनिष्टको रूपमा चिनाउने प्राय दलहरूले कार्ल मार्क्स, अन्गल्स, लेलिन जस्ता दार्शनिकको सिद्धान्त नेपाली परिवेशमा अक्षरश लागू गर्न खोजेको देखिन्छ सुरूवातको चरणमा। तर १९९०को दशकमा सोभियत संघ अस्त भएसँगै कुनै पनि दर्शन र सिद्धान्त हरेक परिवेश र समयमा उपयोगी हुँदैन भन्ने स्थापित हुँदै गर्दा नेपाली राजनीतिको परिदृश्यमा मदन भण्डारीको उदयसँगै नयाँ राजनीतिक दर्शनले स्थान पायो।

पश्चिमा जगतले सफलतापूर्वक प्रयोग गरेका केहि कुरा नै पूर्वीय सभ्यताले सृजित गरेको केहि कुरा जोडेर नयाँ सिद्धान्त प्रतिपादन गरेर जनताको बहुदलीय जनवादको नारामा समग्र कम्युनिष्ट आन्दोलन गोलबद्ध गर्ने प्रयास हुदै गर्दा प्रचण्डको नेतृत्वको माओवादी धारको राजनीतिक यात्रा तय गर्दै नेपाली समाजमा हिंसात्मक राजनीतिले प्रवेश पायो।

विगतमा पनि प्राय राजनीतिक आन्दोलन हिंसात्मक नै थिए तर माओवादी आन्दोलनको विशेष महत्व रहेको छ। किनभने संसार पूरै एउटा दिशातर्फ अग्रसर भइरहँदा सो आन्दोलनको जन्म भएको थियो। कुनै पनि दर्शन र सिद्धान्त कमजोरीविहीन हुन्न। समाज र समय अनुसार परिमार्जन हुनुपर्छ भन्ने कुरा व्यवहारबाटै स्थापित भैरहेको अवस्थामा हिजोकै सिद्धान्तलाई अक्षरस: पालना गराउँछौ भनेर आन्दोलनमा होमिएको भए पनि माओवादीले अनपेक्षित सफलता पाउन सफल भयो।

हिजोको दिनमा माओवादी आन्दोलनले नेपाली समाजको वर्गचित्रित गर्दै-गर्दा हाम्रो वर्ग चरित्रलाई अर्थ राजनीतिसँग धेरै जोड्नु र संस्कृतिक सामाजिक संस्कारसँग कम जोड्नु नै अहिलेको अवस्था सृजनाको प्रमुख कारक तत्व हो। नेपाली समाज इतिहासदेखि नै वर्गीय चरित्र बोकेको समाज हुँदा-हुँदै पनि यहाँको वर्ग केबल अर्थ र राजनीतिसँग जोडिएको थिएन र आज पर्यन्त छैन।

जातीय वर्णानुक्रमले सृजित गरेको वर्गीय विभाजन अर्थ राजनीति भन्दा बढी सांस्कृतिक र सामाजिक व्यवहारमा झल्किनु नै हाम्रो समाजको अन्य वर्गीय चरित्र भन्दा फरकपन हो। नेपाली समाजलाई हेर्ने हो भने हिजो पनि आज पनि हाम्रो वर्गीय चरित्र र संघर्ष आर्थिक र राजनीतिक विमतिभन्दा बढी सांस्कृतिक र सामाजिक देखिन्छ।

नेपाली समाजमा पश्चिमा विश्वको जस्तो पहिचानवादी व्यक्तित्व र वर्गीय चरित्रको राजनीतिक दिशा निर्देशले समग्र अर्थ राजनीतिक समस्याको समाधान भन्दा पनि सामाजिक विखण्डन र तिक्ततालाई प्रशय दिन पुगेको छ। माओवादी आन्दोलनले नेपाली समाजमा रहेको वर्गीय विभेदलाई केबल राजनीतिक हिसाबले चित्राङ्कन गरि समाधान दिने प्रयास गर्दा समाजमा रहेका केहि प्रतिगामी प्रथा र संस्कार द्रुत गतिमा परिवर्तन त भए तर समग्र रूपमा हाम्रो वर्गीय विभेदलाई समाप्त पार्न भने सकेन।

नेपाली समाजमा व्याप्त जातीय विभेद, लैंगिक असमानता जस्ता कुरीतिलाई यहाँको संस्कृति र धर्म नै समुल नष्ट गरि हटाउन सकिन्छ भन्ने मनोविज्ञानले तत्कालीन माओवादी आन्दोलन निर्देशित हुँदा कुसंस्कारका केहि पाटोहरू क्रमश: कमजोर बन्दै त गए। तर सँगसँगै जातीय पहिचान र क्षेत्रीय पहिचानको नाराले विभाजनको प्रस्थानविन्दु पनि तय गर्दै लगेको देखिन्छ।

नेपाली समाजमा रहेको हिन्दु बाहुल्यतालाई नै अविकास र पछौटेपनको कारक मान्दै संस्कृत पढ्न नपाइने, मन्दिरमा गाई काट्ने जस्ता कृत्यहरू द्वन्द्वकालमा हुँदा अधिकांश प्रगतिशील चिन्तक र विचारकहरूले यसैलाई नै क्रान्तिकारी मार्ग र उचित राजनीतिक गन्तव्य देखेको देखिन्छ।

चिनियाँ क्रान्तिपछि भएको संस्कृतिक क्रान्तिको दुष्परिणाम र सामाजिक विचलन देख्दा देख्दै पनि सोहि प्रकारको मार्ग चित्रणलाई तत्कालीन नेपाली वौद्धिक जगतले समाज परिवर्तनको सुत्र देख्नु नै अहिलेको सामाजिक विचलनको मुख्य कारक हो।

अनेकतामा एकता नै पूर्वीय दर्शनको विशेषता थियो, जातीय वर्णनुक्रम मुलभुत रूपमा यस दर्शनको सबैभन्दा अँध्यारो पक्ष हो। सारा संसार दाजुभाइ हुन् भनेर एकातिर भन्दै गर्दा अर्कोतिर जात व्यवस्था मार्फत आफ्नै समाजभित्रै व्यापक विभेद सृजित गर्नु नै पूर्वीय दर्शनको सबैभन्दा ठूलो कमजोरी थियो।

तर, यहि कमजोरीलाई सच्याउदै संस्कार र सामाजिक चालचलनलाई प्रगतिशील र समता मुलक बनाउन लाग्नुपर्नेमा यहि कमजोरीलाई हतियार बनाएर राजनीतिक फाइदा उठाउने चेष्टा गर्दै जाँदा हाम्रो सामाजिक संघुलन खल्बलिएको मात्र नभई आज धार्मिक र जातीय द्वन्दको सङ्घारमा उभिएको छ।

द्वन्द्वको १० वर्षे अवधिमा नेपाली समाजले राजनीतिक परिवर्तन मात्र नभई थुप्रै सामजिक परिवर्तन पनि देख्यो। मुलुक गणतन्त्रमा जाँदै गर्दा धर्म निरपेक्षता र पहिचान सहितको संघियताको मुद्दा पनि वृहत्तर छलफल र सामाजिक परिक्षणमा आइपुग्यो। धर्म निरपेक्षता जति सहज रूपमा स्वीकार भयो उति नै विरोध र संघर्षले संघियतामा पहिचान हटेर गयो।

तर, फेरि कोशी प्रदेशको नामाङ्कनसँगै पहिचानको द्वन्द्व फेरि एकपटक सतहमा देखिन थालेको छ। यो पटकको पहिचानको द्वन्द्व विगत भन्दा फरक देखिएको छ, यो पटक जातीय विभेदले सृजित वर्गीय पीडाभन्दा टाढा धार्मिक द्वन्द्व बढाउने उद्देश्यका साथ अगाडि बढ्न खोजेको हो कि भन्ने संकेतहरु देखिन्छ। 

धर्म र संस्कारलाई प्रगतिशील चिन्तनले परिष्कृत र विकसित गर्नुको सट्टा धर्म र जातीयतालाई राजनीतिको रोटी सेक्ने इन्धन बनाउने हाम्रो राजनीतिक कुचेष्टाले सिंगो नेपाली समाजको एकता र भातृत्वको समग्र भावनालाई कतै खरानी बनाउने त हैन? हामी यो संवेदनशील स्थितिमा उभिरहँदा समग्र समाजले सोच्न जरुरी छ।

राजनीति भनेकै फुटाएर सत्तामा पुग्ने मार्ग जस्दै देखिएको छ। हाम्रो विघटन र द्वन्द्वले सबैभन्दा पिरोल्ने स्वयंलाई हो। जातियता होस् वा धार्मिकता होस् वा अन्य कुनै पनि बहानामा हामीलाई लडाउँदा कस्लाई फाइदा पुग्छ ? कस्को सर्वश्व गुम्छ?

यसको तथ्जय पहिल्याउन सत्ता र शक्तिको रसस्वाद गरिरहेका र गरिसकेका व्यक्ति तथा समूह हेरे पुग्छ।

२२ असोज, २०८०, १९:३८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।