‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलरमा देखियो नागरिक बन्न विपिनले गर्ने संघर्ष

‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलरमा देखियो नागरिक बन्न विपिनले गर्ने संघर्ष

काठमाडौँ : विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को ट्रेलर सार्वजनिक भयो सोमबार।

तीन मिनेट लामो ट्रेलरमा फिल्मका मुख्य पात्र विपिन कार्की (भष्मे डन) नै हाबी देखिन्छन्। सात वर्षअघि रिलिज भएको ‘पशुपतिप्रसाद’को दोस्रो शृङ्खलामा फिल्मको मुख्य पात्र ‘भष्मे डन’को पछिल्लो भागलाई पेस गरेको देखिन्छ।

पशुपति क्षेत्रको बागमती नदीमा सुन खोज्ने भष्मे डन पात्रलाई ‘सात वर्षपछि सुनले सुख ल्याउला कि दुःख’ भन्ने प्रश्न ट्रेलरमा गरिएको छ। यसमा निर्देशकले ‘भष्मे डन’लाई धनभन्दा मानवीय सम्बन्ध महत्त्वपूर्ण हुने सन्देश दिन खोजेको ट्रेलरमा  देखिन्छ। 

फिल्ममा सौगात मल्लको चरित्र के होला भन्ने कौतुहलता फिल्म रिलिज हुनु अगाडि नै ट्रेलरले नै खुलाएको छ। सडक पेटी व्यापारी रहेका सौगात बागमतीमा पाइने सुनमा लोभिने र त्यसबाट भष्मेसँग द्वन्द्व हुने ट्रेलरले सङ्केत गरेको छ।

फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काको चरित्र देवी रहेको यस अगाडि नै खुलासा भइसकेको थियो। तर बिचमा फिल्म निर्माण टिमले प्रमोसन गीतमा उनलाई नचाएको थियो। 

ट्रेलरमा भष्मे डन बनेका विपिन र स्वस्तिमाबीचको संवाद रोचक छ। खगेन्द्र लामिछानेको कथा भन्ने शैली नबदलिएको हो भने देवी बनेकी स्वस्तिमा र भष्मे बनेका विपिनबिचको संवाद भष्मेको कल्पना वा भ्रम हुनसक्ने सम्भावना देखिन्छ। अर्थात् स्वस्तिमा रियल क्यारेक्टर नभएर कल्पनाको क्यारेक्टर हुनसक्ने देखिन्छ।

पशुपति प्रसादमा क्यासिनोमा सर्वस्व गुमाएर पहिचान लुकाउन हनुमान बनेर पशुपति क्षेत्रमा बसेका रवीन्द्र घिमिरेको चरित्र निकै बलियो थियो। तर सिक्वेलको ट्रेलरमा त्यस्तो देखिएन। 

अनागरिक रहेका भष्मेलाई जब नागरिकको कानुनी पहिचान चाहिन्छ अनि उनले कस्तो अवरोध बेहोर्नुपर्छ भन्ने मूल कथामा फिल्म बनेको छनक ट्रेलरले नै दिएको छ। 

दशैँको फूलपातीमा रिलिज हुने फिल्मलाई टुकी आर्ट्सको ब्यानरमा लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले निर्माण गरेका हुन् भने दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्।

असोज २२, २०८० सोमबार १८:२१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।