आइतबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

आइतबारबाट देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा

काठमाडौं : नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल र स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएको छ।

हेटौंडास्थित सन्चो अस्पतालका दुई जना चिकित्सकहरु डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

संघले सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दवावस्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजहरूलाई आग्रह गरेको छ।

‘२०८० भाद्र ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्ण रुपमा बन्द गरिने’, संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

संघले सम्पूर्ण दोषीहरुको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारवाहीको सुनिश्चितता हुनुपर्ने प्रमुख माग राखेको छ।

यसका साथै संघले देशभरका स्वास्थ्य संस्थाहरुमा अनिवार्य रुपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अबिलम्ब मिलाउनु पर्ने माग पनि राखेको छ।

भदौ ३०, २०८० शनिबार २२:४१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।