चिकित्सक कुटेको विरोधमा चिकित्सकहरू आन्दोलित, बिरामीलाई सास्ती

चिकित्सक कुटेको विरोधमा चिकित्सकहरू आन्दोलित, बिरामीलाई सास्ती

धनगढी : हेटौंडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि साङ्घातिक आक्रमण भएको विरोधमा बैतडीका चिकित्सक आन्दोलित भएका छन्।

वुधबार अस्पतालका डा. विकास थापा र डा. प्रशान्त विंडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको थियो। 

यसरी अस्पतालभित्रै चिकित्सकहरू डा. थापा र डा. विडारीमाथि भएको सांघातिक हमलाको निन्दा गर्दै बैतडी जिल्ला अस्पतालमा कार्यरत चिकित्सकले आज कालोपट्टी बाँधेर विरोध गरेका हुन्। 

दोषीलाई कारबाहीको माग गर्दै उनीहरूले बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई ज्ञापनपत्र समेत बुझाएका छन्। 

शुक्रबारदेखि सेवा बन्द पार्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। स्वास्थ्यकर्मी र चिकित्सकले सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राख्दै आन्दोलन थालेको जिल्ला अस्पताल बैतडीका डा. धीरज जैसवालले जानकारी दिए। 

डाक्टरमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभूति नहुँदासम्म बिरामीको जाँच गर्न नसिकने चिकित्सकले प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ। 

यसरी चिकित्सक आन्दोलित भएपछि जिल्लाको विकट भेगबाट आएका बिरामीले भने दुःख पाउने भएका छन्।  प्रधानमन्त्री प्रचण्डले उक्त घटनामा संलग्न भएकाहरुलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाइसकेका छन्। 

भदौ २८, २०८० बिहीबार १७:२९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।