एक्सनमा काउन्सिल : अप्रेसन गर्दा पेटमा औजार छुटाउनेदेखि अनुमतिविना भिडियो बनाउने डाक्टरसम्मलाई कारबाही

एक्सनमा काउन्सिल : अप्रेसन गर्दा पेटमा औजार छुटाउनेदेखि अनुमतिविना भिडियो बनाउने डाक्टरसम्मलाई कारबाही

काठमाडौं : नेपाल मेडिकल काउन्सिलको आचारसंहिता उल्लंघन तथा कारबाहीको विषयमा गरेको तीन वर्षका निर्णय उकेराले प्राप्त गरेको छ।

उकेराकर्मीले बैशाख ८ मा सूचनाको हकको प्रयोग गरी आचारसंहिता उल्लंघन सम्बन्धी नेपाल मेडिकल काउन्सिलले तीनवर्ष यता(२०७७ देखि) हालसम्म गरेको कारबाहीको निर्णयको प्रतिलिपि माग गरेको थियो।

काउन्सिलले उकेराकर्मीलाई उपलब्ध गराएको विवरणअनुसार २०७७ मा ४, २०७८ मा ६ र २०७९ मा ११ वटा बैठक बसेर आचारसंहिता उल्लंघन लगायतका विषयमा निर्णय गरेको थियो। त्रुटी गर्ने चिकित्सकलाई काउन्सिलले निलम्बन लगायतका कारबाही गरेको छ।

चिकित्सा क्षेत्रमा एकपटक निलम्बित भएको खण्डमा उसको पेशा र भविष्यमा पाउने अवसरमा समेत धक्का लाग्छ।

२०७७ का निर्णय : नक्कली कागजात बनाउनेदेखि भ्रम फैलाउनेसम्मलाई कारबाही
२०७७ कात्तिक २१ गते बसेको काउन्सिलको बैठकले व्यावसाियक आचरण तथा स्वास्थ्य समितिसँग सम्बन्धित तीन वटा निर्णय गर्यो।

पहिलो निर्णयमा एमबीबीएस तह उत्तीर्ण गरेका तर लाइसेन्स परीक्षामा अनुत्तीर्ण व्यक्तिले नेपाल मेडिकल काउन्सिलको नक्कली प्रमाणपत्र बनाइ अपचलन गरेको पाइएपछि ती चिकित्सकलाई कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गर्यो।

सोही दिनको काउन्सिलको बैठकले व्यावसायिक आचरणको कारबाहीमा परी सचेत गराइएका चिकित्सकहरूलाई ६ महिनासम्म असल चारित्रिक प्रमाणपत्र प्रदान नगर्ने निर्णय गर्यो।

कार्तिक २१ गते नै काउन्सिलले व्यावसायिक आचरण लगायतको कारबाहीमा परेका अस्पताल तथा अस्पताल व्यवस्थापनबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी गराउने तथा आवश्यक कारबाहीका लागि लेखेर पठाउने निर्णय गर्यो।

काउन्सिलले २०७७ आश्विन १५ मा व्यवसायिक आचरण सम्बन्धी केही निर्णय गर्यो।

काउन्सिलले असोज १५ गते काउन्सिलमा दर्ता भएका चिकित्सकले विभिन्न सञ्चार माध्यमहरूमा आचार संहिताविपरीत अन्य चिकित्सकको मर्यादामा खलल पुर्याउने गरी टिकाटिप्पणी गर्ने, अमर्यादित शब्दहरूको प्रयोग गर्ने, निराधार आरोप लगाउने र कार्यालय परिसरमा समेत अशिष्ट व्यवहार गर्ने गरेको पाइएकाले त्यस्ता चिकित्सकहरूलाई आचारसंहिता पालना गर्न चेतावनी दिने र यसबारे सार्वजनिक सूचना समेत प्रवाह गर्ने निर्णय गर्यो।

सोहीदिनको बैठकले काउन्सिलमा विशेषज्ञ दर्ता नभएका चिकित्सकले आफूले नपाएको उपाधि र विशेषज्ञ दर्ताको नक्कली पमाणपत्र पेशगरी मनमोहन मेमोरियल अस्पताल, विर्तामोडमा जागिर खाने प्रयत्न गरेको पाइएकाले ती व्यक्तिमाथि कारबाही अगाडि बढाउने निर्णय गर्यो।

काउन्सिलले असोज १५ गते नै तेस्रो निर्णयका रूपमा काउन्सिलमा दर्ता भएका एक चिकित्सकले नेपाल मेडिकल काउन्सिलबाट जारी भएको भनि सन् २०२० अगस्ट १२ तारिखको मिति राखी ‘द डाटा लो गु्रप’लाई पेश गरेको ‘सर्टिफिकेट अफ गुड स्टान्डिङ्ग’नक्कली पाइएकाले यस सम्बन्धमा जानकारी लिइ कारबाही अगाडि बढाउने निर्णय गर्यो।

त्यसैगरी २०७७ असोज चार गते काउन्सिलले दुई जना चिकित्सकले आफूले नपाएको उपाधि राखेर काउन्सिलको कीर्ते कागजात (नक्कली प्रमाणपत्र) बनाई प्रयोग गरिको देखिएकाले ती व्यक्ति माथि व्यावसायिक आचरण तथा कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

काउन्सिलले २०७७ बैशाख १७ गते व्यावसायिक आचरणका विषयमा परेका उजुरीका विषयमा छानबिन गर्ने लगायतका निर्णय गरेको थियो।

२०७८ को निर्णय : त्रुटी गर्ने चिकित्सकलाई तीन महिनादेखि एक वर्ष निलम्बन
त्यसैगरी २०७८ मा पनि काउन्सिलको बैठकले व्यावसाियक आचरण तथा स्वास्थ्य समितिसँग सम्बन्धित विभिन्न निर्णय गरेको थियो। २०७८ मा उपचारमा संलग्न त्रुटी गर्ने चिकित्सकलाई तीन महिनादेखि एक वर्षसम्म निलम्बन लगायतका विषयमा निर्णय गरेको थियो।

२०७८ फागुन २ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागमा भएको विवादका विषयमा स्थलगत अनुगमत तथा छानबिन गर्न गठन भएको विज्ञ टोलीको अध्ययन प्रतिवेदनको आधारमा आचारसंहिता तथा स्वास्थ्य समितिबाट प्राप्त सिफारिस अनुमदन गर्ने निर्णय गर्यो।

जसमा प्रतिष्ठानको हाडजोर्नी विभागबाट प्रयोग गरिने र विदेशी दातृ संस्थाबाट प्राप्त हुने गरेको साइन नेल प्रयोग सम्बन्धी निर्देशिका बनाएर लागू गर्न प्रतिष्ठानलाई निर्देशन दिने निर्णय गरेको थियो।

शल्यक्रियाका क्रममा अवाञ्छित, गैह्रकानूनी कार्यमा संलग्न भएको तथा चिकित्सकीय आचारणका न्यूनतम मापदण्डको पालना नगरेको पाइएका प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ तीन महिनाका लागि व्यावसायिक कार्य गर्न निलम्बन गरी ती-ती चिकित्सकले गरेका गैह्रकानूनी कार्यको कारबाहीका लागि प्रतिष्ठान र नियामक निकायलाई लेखेर पठाउने निर्णय गर्यो।

काउन्सिलले शल्यक्रिया भइरहेको अवस्थामा उपचार टिममा रहेका चिकित्सकरूबीच जस्तो सुकै प्रयोजनको लागि भएपनि बिरामीको अगाडी झगडाको वातावरण हुनु आपतिजनक र गैह्र व्यावसायिक कार्य भएको ठहर गरेको थियो।

त्यसैले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७८ पुस २९ मा बिरामीको सपचारमा संलग्न दुईजना चिकित्सकलाई आइन्दा यस्ता गतिविधिमा सरिक नहुन सचेत गराउने काउन्सिलले निर्णय गरेको थियो।

उपचारका क्रममा चिकित्सकहरुबीच नै झगडा भएको त्यो विभागमा गैह्रव्यावसायिक आचरणका कामहरू पटक–पटक विभागका सदस्यहरूले गरिरहेको र गैह्रकानूनी कार्य गरेको समेत जानकारी पाउँदा पनि प्रतिष्ठानका विभागीय प्रमुखले समयमा नै उचित कारबाही नगरेको भन्दै काउन्सिलमा उजुरी परेको थियो।

आफ्नो विभागमा आउने सामानहरूको अभिलेख लगायतको निर्देशिका बनाई लागू गर्न विभागीय प्रमुख चुकेको देखिएको काउन्सिलले औंल्याएको थियो। चिकित्सा व्यवसायमा आफू मातहतका सहकर्मीहरूलाई उचित तरिकाले परिचालन गर्न र गैह्र व्यावसायिक तथा गैह्रकानूनी कार्यलाई सही उपचारमा समयमा नै दिन नसकेको भन्दै काउन्सिलले उपचारका क्रममा चिकित्सकहरूले झगडा गरेको सम्बन्धित विभागीय प्रमुखलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

काउन्सिलको जेठ १६ गतेको बैठकले प्रतिष्ठानका हाडजोर्नी विभागमा भएको विवादबारे छानबिन गरी उपचारमा संलग्न चिकित्सकलाई आचारसंहिता तथा स्वास्थ्य समितिको सिफारिस बमोजिम एक महिनाका लागि हाडजोर्नी विभागका प्रमुख मातहतको निगरानीमा उपचारमा संलग्न ति चिकित्सकलाई काम गर्न लगाइ परीक्षणमा राख्ने निर्णय गर्यो। सो अवधिमा आरोपित चिकित्सकको काम सन्तोषजनक नभए वा काउन्सिलको निर्णय अटेर गरे थप कडा कारवाही हुने जानकारी गराउने निर्णय भएको थियो।

त्यसैगरी बयोधा अस्पतालका अर्थोपवेडिक चिकित्सकको स्पष्टीकरणबाट काठमाडौंको कलंकीकी ३८ वर्षे बिरामीको उपचारको क्रममा चिकित्सकले आफ्नो परिचय संलग्न कागजमा खुल्नेगरी दिएको नदेखिएको काउन्सिलले जनाएको छ।

त्यसैगरी उपचारमा संलग्त ती विशेषज्ञ चिकित्सकले दिनुपर्ने न्यूनतम ज्ञान र सीपसमेत अभ्यास नगरेको कारणबाट बिरामीमा थप क्षति देखिएको काउन्सिलले ठहर गरेको थियो। त्यसैले उपचारमा संलग्न बयोधाका ती चिकित्सकलाई २०७८ कार्तिक ८ गते काउन्सिलले तीन महिनासम्म चिकित्सकीय कार्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो।

बयोधा अस्पतालमा एक जना चिकित्सकको नाममा अर्को चिकित्सकले बिरामी जाँच गर्ने प्रचलन रहेको कागजातहरूले प्रष्ट रूपमा देखिएको ठहर गर्दै काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सो विषयमा कारबाही गर्नका लागि पत्र पठाउने निर्णय गरेको थियो।

फाप्लु अस्पतालमा शल्यक्रिया गराएकी सोलुखुम्बुकी ३० वर्षीय बिरामीको शल्यक्रिया गर्दा पेटमा ‘टेट्रा’ छुटेर बिरामीमाथी जटिलता पैदा भएको काउन्सिलले ठहर गरेको थियो। त्यसैले काउन्सिलको २०७८ कार्तिक ८ गतेको बैठकले उपचारमा संलग्न चिकित्सकलाई यस्ता गल्ती नदोहोर्याउन सचेत गराउने निर्णय गरेको थियो।

सो शल्यक्रियामा संलग्न अपरेशन थिएटर स्टाफ नर्सको समेत उपचार (शल्यक्रिया) प्रक्रियामा त्रुटी हुन गएको देएिकाकाले नेपाल नर्सिङ काउन्सिललाई शल्य चिकित्सकबाट प्राप्त अन्तिम स्पष्टीकरणको प्रतिलिपि प्रमाणित गरेर आवश्यक कारबाहीको लागि लेखि पठाउने निर्णय गरेको थियो।

त्यसैगरी उपचारमा संलग्न चिकित्सकलाई स्पष्टिकरण सोध्ने लगायतका निर्णय काउन्सिलले गरेको थियो।

कात्तिक ८ गतेको बैठकले रुपन्देहीका ३० वर्षे बिरामीको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकले माइनर अपरेशन थिएटरमा प्रजनन् अंग सम्बन्धी शल्यक्रिया गर्दा सुसूचित मञ्जुरीनामा लिने अत्यावश्यक प्रक्रियालाई वास्ता नगरी शल्यक्रिया गरेको पाइएकोे ठहर गरेको थियो।

शल्यक्रिया गर्ने चिकित्सकलाई यस्ता गल्ती नदोहोर्याउन सचेत गराउने काउन्सिलले निर्णय गरेको थियो। त्यसैगरी ती बिरामीलाई पर्न गएको शरीरिक तथा मानसिक असरको क्षतिपूर्तिबारे काउन्सिलमा आवश्यक संरचनासमेत तयार नभएको हुँदा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा आवदन गर्न सुझाव दिने काउन्सिलले निर्णय गरेको थियो।

त्यसैगरी काउन्सिलले २०७८ असार २५ गते काठमाडौंको ज्ञानेश्वरकी ६३ वर्षीय महिलाको मृत्युमा बीएण्डबी अस्पतालले कानूनी कागजातहरू त्रुटीपूर्ण तरिकाले तयार गरेको देएिकाले सो अस्पताललाई कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाउने निर्णय गरेको थियो।

सोही अस्पतालमा नियमित क्यान्सर रोगको उपचार गराइरहेकी महिलाको मृत्यु भएपछि त्यसको प्रमाणपत्रमा फरक–फरक व्यहोरा उल्लेख गरेपछि उपचारमा संलग्न विशेषज्ञ चिकित्सकलाई सचेत गराउने निर्णय गरेको थियो।

त्यसैगरी नेपाल वायुसेवाका वरिष्ठ क्याप्टेनको रोगको बारेमा गलत रिपोर्टिङ गरिएको र समयमा उपचार नभएर मृत्यु भएको भन्ने विषयमा छानबिन गर्दा उपचारमा संलग्न चिकित्सकले त्रुटी गरेको देखिएपछि काउन्सिलले सूचना जारी गरेको मितिले एक वर्षसम्म मुटुरोग विज्ञ (कार्डियोलोजिष्ट)को हैसियतमा काम गर्न निलम्बन गर्ने निर्णय गरेको थियो।

त्यसैगरी काउन्सिलले ती चिकित्सकलाई एक वर्ष तालिम र थप सिकाइ गरेको प्रमाण पेश गरेपछि मात्रै मुटु रोगको विशिष्टिकृत उपचार गर्न–गराउन अनुमति दिने निर्णय गरेको थियो।

त्यसैगरी चालीस वर्ष उमेर पुगेका पाइलटहरूको स्वास्य परीक्षणलाई थप कडाई गरी विषय विज्ञको राय बमोजिम स्वास्थ्य परीक्षण गराउनेपर्र्नेे लगायतका काउन्सिलले सुझाव दिएको थियो।

२०६९ को निर्णय : स्वीकृतिविना भिडियो रेकर्ड गर्ने चिकित्सकलाई चेतावनीदेखि भ्रामक सूचना दिनेलाई निलम्बन
काउन्सिलले २०७९ चैत १६ गते शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०७९ साउन २४ गते घटेको घटनाको जाँचबुझ गर्दा सो केन्द्रमा कार्यरत सर्जच चिकित्सकले शल्यकक्ष भित्र आफ्नो युनिट प्रमुखसँग वादविवाद गरी शल्यक्रियाको वातावरणमा प्रतिकुल प्रभाव पार्नेगरी कार्य गरेको देखिएकाले संयमित र अनुशासित हुन चेतावनी दिने निर्णय गरेको थियो।

सो केन्द्रका निर्देशक र सोही अस्पतालमा काम गर्ने सर्जनबीच भएको विवादमा शल्यकक्ष भित्र अर्का सर्जनले बिरामी र सम्बन्धित पक्षको स्वीकृतीविना भिडियो रेकर्ड गरेको देखिएपछि काउन्सिलले आगामी दिनमा त्यस्ता गतिविधि नगर्न अन्तिम चेतावनी दिएको थियो।

केन्द्रमा भएको त्यो घटनामा संलग्न सोही केन्द्रका कार्यकारी निर्देशकलाई आन्तरिक अनुसाशन कायम राख्न, उपचार गरिएको बिरामीको रेकर्ड चुस्तदुरुस्त गर्न र विरामी प्रेषण गर्दा आवश्यक सावधानी र प्रक्रिया पु¥याउन सचेत गराउने निर्णय गरेको थियो।

मेडिसिटीका चिकित्सकलाई एक हप्ता निलम्बन
त्यसैगरी नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा २०७९ असार २५ गते मृत्यु भएका ललितपुरका ७३ वर्षीय बिरामीको शल्यक्रिया सामान्य रूपमा भए पनि शल्यक्रियापछि उत्पन्न जटिलताको निराकरणमा ढिला भएको काउन्सिलले ठहर गर्दै काउन्सिलले उपचारमा संलग्न चिकित्सकलाई २०७९ फागुन २६ गते एक हप्ता निलम्बन गर्ने निर्णय गरेको थियो।

त्यस्तै काउन्सिलले उपचारको नेतृत्व गर्ने ती विज्ञ शल्यचिकित्सकलाई गुड क्लिनिकल प्राक्टिस र क्लिनिकल अडिट सम्बन्धि थप तालिम लिएर मेडिकल काउन्सिलमा जानकारी गराउन सूचित गर्ने निर्णय गरेको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा पिडियाट्रिक चिकित्सकले लेखिदिएको प्रेस्क्रिप्सनविना अनुसन्धान वा प्राप्त तथ्यभन्दा बाहिर रहेर लेखिएको औषधिहरू र उपचारपद्धति वैज्ञानिक विधि बमोजिम नपाइएको विषयमा पनि काउन्सिलले प्रेस्क्रिप्सन लेखनको तालिम लिनुपर्ने लगायतका विषयमा निर्णय गरेको छ।

त्यसैगरी चिरायु अस्पतालमा उपचार गरेका १३ वर्षका बिरामीको समयमा सही उपचार गर्न छुट भई जटिलता उत्पन्न भएका कारण बिरामी पक्षलाई दीर्घकालीन शारीरिक क्षति नभए पनि बिरामीको समय, आर्थिक नोक्सानी र मानसिक असर देखिएकोले सचेत भई काम गर्न निर्देशन दिने निर्णय गरेको थियो।

काठमाडौं मेडिकल कलेजमा मृत्यु भएका ४८ वर्षका व्यक्तिको २०७९ असोजमा एमआरआई रिपोर्टको आधारमा एमआरआई गरेको भोलिपल्ट ‘पिट्युटरी एडेनोमा’ को शल्यक्रिया गरेको विषयमा पनि चिकित्सकको व्यावहारिक गुणमा कमी देखिएकाले काउन्सिलले उपचारमा संलग्न चिकित्सकलाई अन्तिम चेतावनी दिने निर्णय गरेको थियो।

भ्रामक सूचना दिनेलाई सात दिन निलम्बन
त्यसैगरी नेपाल क्यान्सर अस्पतालमा कार्यरत सर्जनहरूले कास्कीको पोखराका ४५ वर्षीय बिरामीको उपचारको क्रममा त्यहिँको फिस्टेल अस्पतालमा उपचारमा संलग्न चिकित्सकले आफ्नो क्षणिक व्यावसायिक लाभका लागि सहकर्मीमाथि अनुचित लाञ्छना लगाएर बिरामी पक्षलाइ भ्रामक सूचना दिएको काउन्सिलले ठहर गरेको थियो। त्यसैले उपचारमा संलग्न चिकित्सकलाई २०७९ मंसिरदेखि २६ लागू हुनेगरी सात दिन निलम्बन गर्ने निर्णय गरेको थियो।

चितवनको भरतपुर अस्पतालमा २०७९ साउन १२ गते उपचारका लागि लगिएका तीन महिने शिशुको उपचारका क्रममा अस्पतालमा भर्ना गरिएको तर अस्पतालको कुन विभाग र कुन चिकित्सकको निगरानीमा उपचार गर्ने भन्ने जिम्मेवारी नतोकिएकाले उचित हेरचाह नभएका कारण बचाउन सकिने सम्भावना भएको बिरामीको मृत्यु भएको भन्दै व्यवस्थापकीय त्रुटी देखिएकाले काउन्सिले औंल्याएको छ।

भदौ १८, २०८० सोमबार १८:४१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।