१४ लाख आवेदकमध्ये ७ लाखले मात्र पाए सनराइज इन्स्योरेन्सको प्राथमिक सेयर
काठमाडौँ : १४ लाख ६६ हजार ८६२ योग्य आवेदक मध्येबाट गोला प्रथाबाट ७ लाख ६८ हजार आवेदकले मात्र सन नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर पाएका छन्। शुक्रवार १० कित्ताका दरले ७६ लाख ८० हजार कित्ता सेयर बाँडफाँट भएको हो। अन्य आवेदकको भने हात खाली भयो।
धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैङ्किङले शुक्रवार बिहान कम्पनीको आइपिओ बाँडफाँट गरेको थियो।
कम्पनीले नेपाल धितो पत्र बोर्डबाट जारी पुँजी ३ अर्ब २० करोडको ३० प्रतिशतले हुने ९६ करोड बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाए अनुसार उसले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा १ सय ३९ रुपैयाँ प्रिमियम थप गरी २ सय ३९ रुपैयाँ प्रतिकित्ताको दरले साधारणका लागि सेयर निष्कासको स्वीकृति पाएको थियो।
यसमध्ये ९ लाख ६० हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेर वैदेशिक रोजगारीमा गएका नेपालीलाई, ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई र प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित मूल्यका ४ लाख ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीलाई निष्कासन तथा बाँडफाँट गरेको थियो।
बाँकी भएको ७६ लाख ८० हजार कित्ता साधारण सेयरका लागि कम्पनीले ३२ साउनदेखि ४ भदौसम्म आवेदन माग गरेको थियो।
भदौ १५, २०८० शुक्रबार १३:४१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।