स्वास्थ्य सेवा विभागको महानिर्देशकमा संगीता इन, दिपेन्द्र आउट
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी मन्त्रालयकी अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई दिएका छन्।
मन्त्रालय स्रोतका अनुसार बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री बस्नेतले मिश्रालाई यो जिम्मेवारी दिएका हुन्। त्यसैगरी विभागका महानिर्देशक डा. दिपेन्द्र रमण सिंहलाई भने स्वास्थ्य मन्त्रालयमा तानिएको छ।
डा. मिश्राले अतिरिक्त सचिवमा बढुवा हुनुअघि कोशी अस्पतालको र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)को प्रमुखको जिम्मेवारीमा काम गरेकी थिइन्।
उनले स्वास्थ्य मन्त्रालयको प्रवत्ताको जिम्मेवारीमा रहेर समेत काम गरेकी हुन्। स्वास्थ्य मन्त्री बस्नेतले कान्ति बाल अस्पतालको निर्देशक पनि हेरफेर गरेका छन्।
मन्त्री बस्नेतले बुधबारै डा. युबानिधि बसौलालाई निर्देशकको जिम्मेवारीबाट हटाएर डा. पंकज रायलाई निर्देशकमा नियुक्त गरेका छन्।
डा. बसौलाको दरबन्दी भने कान्तिमा नै रहेको मन्त्रालय स्रोतले जनाएको छ।
भदौ १३, २०८० बुधबार १५:४४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।