मेडिकल काउन्सिलका उपाध्यक्ष डा. पौडेल क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त

मेडिकल काउन्सिलका उपाध्यक्ष डा. पौडेल क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त

काठमाडौं :  नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा.शिवजी पौडल वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। 

सोमबार नै आफूले नियुक्ति पत्र पाइसकेको डा. पौडेलले उकेरालाई जानकारी दिए। ‘आज बिहानको (नियुक्ति), (नियुक्तिपत्र) पाइसकेँ,’उनले भने।

अस्पताल सञ्चालक समितिले कार्यकारी निर्देशक नियुक्तिका लागि गठन गरेको तीन सदस्यीय सिफारिस समितिको सिफारिस अनुसार आफू कार्यकारी निर्देशक नियुक्ति भएको उनले जानकारी दिए। 

डा. पौडेल नेपाल मेडिकल काउन्सिलमा २०७८ पुस दुई गते निर्वाचित भएका निर्वाचित उपाध्यक्ष हुन्। काउन्सिलमा उनको कार्यकाल २०८२ पुस एक गतेसम्म छ। 

काउन्सिलको उपाध्यक्ष भएका व्यक्ति अस्पतालको कार्यकारी निर्देशक नियुक्ति हुँदा उनीमाथि ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट’ को प्रश्न उब्जिएको छ।

तर, काउन्सिलको उपाध्यक्ष भएपनि आफू अस्पतालको कार्यकारी निर्देशकमा नियुक्तिका लागि बाधा नपर्ने डा. पौडेलको तर्क छ। 

काउन्सिलको निर्वाचित उपाध्यक्ष हुनुहुन्छ, अस्पतालको कार्यकारी नियुक्ति हुँदा असर गर्दैन? भन्ने जिज्ञासामा उनले भने,‘गर्दैन, गर्दैन।’

डा. पौडेले क्यासर अस्पतालकै रेडियसन अंकोलोजिष्ट चिकित्सक हुन्।

भदौ ११, २०८० सोमबार १२:४८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।