सिटीस्क्यान कक्ष अगाडि रेडियोग्राफी निरीक्षकलाई निर्देशकले झपारेपछि...
काठमाडौं : मधेशी स्वास्थ्यकर्मी फोरम, नेपालले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई निलम्बन गर्न माग गरेको छ।
केन्द्रीय कार्यसमितिका महासचिव कृष्णलाल यादवले एक विज्ञप्ति निकालेर निर्देशक पौडेललाई निलम्बन गरी छानविन र कारबाहीको प्रक्रिया अघि बढाउन माग गरेका हुन्।
साउन ३२ गते बिहान साढे ९ बजे अस्पतालको रेडियोलोजी विभाग सिटी स्क्यानमा कार्यरत रेडियोग्राफी निरीक्षक द्वारिकाप्रसाद यादवलाई शारीरिक र मानसिक यातना दिएको भन्दै संगठनले यस्तो माग गरेको हो।
निर्देशक डा. सन्तोष पौडेलले सिटी स्क्यान कार्यकक्ष अगाडि विभिन्न अपशब्द प्रयोग गरी तथानाम गालीगलौज र हातपात समेत गरी शारिरिक तथा मानसिक यातना दिएकोमा संगठनले भर्त्सनासमेत गरेको छ।
डा. पौडेलले नेपालको संविधानको साथै स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६६, मुलुकी अपराध संहिता २०७४, जातीय तथा अन्य छुवाछुत र भेदभाव ऐन २०६८ को प्रतिकुल कार्य गरेको ठहर गर्दै संगठनले तत्काल निलम्बन गरी घटनाको छानविनको प्रक्रिया अघि बढाउन माग गरेको हो।
भदौ १, २०८० शुक्रबार १९:०१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।