७२ वर्षका पुरुषको ११ वर्षअघिदेखि आन्द्रामा अड्किएका सात वटा आलुबखडा, लिची र लप्सीका दाना निकालियो
काठमाडौंः वीर अस्पतालका चिकित्सकहरूले करिब ७२ वर्षका पुरुषको आन्द्रामा अड्किएर बसेका सात वटा आलुबखडा, लप्सी र लिचीका दाना निकालेका छन्।
दोलखाका ती पुरुषको आन्द्रामा करिब ११ वर्षदेखि अड्किएर रहेका ती दानाहरू केही दिनअघि इन्डोस्कोपी गरेर निकालेको वीर अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजीष्ट डा. दिवस खड्काले जानकारी दिए।
ग्याष्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेल र आफू सहितको टिमले इन्डोस्कोपि गरेर आन्द्रामा अड्किएका दाना निकालेको डा. खड्काले जानकारी दिए। आन्द्रा साँघुरिएकाले दाना अड्किएर बसेको उनले बताएका छन्।
डा. खड्काका अनुसार ती पुरुषको बेलाबेलामा बान्ता हुन्थ्यो। धेरै बान्ता भएपछि ती पुरुष वीर अस्पताल पुगेका थिए।
‘उल्टी गरिरहेको मान्छेको जाँच गर्दै जाँदा पेटमा आलुबखडा, लप्सीका दाना गएर आन्द्रा ब्लक गरेको रहेछ’,उनले भने, ‘धेरैचाहिँ लप्सीको दाना थियो। ११-१२ वर्ष देखिकै हो यो।’
अस्पतालमा पुगेको ती पुरुषलाई बेहोस बनाएर इडोस्कोपिको सहायताले सात वटा दानाहरू निकालिएको उपचारमा संलग्न डा. खड्काले जानकारी दिए। बाँकी दानाहरू दिसाको माध्यमबाट नगएको खण्डमा मङ्गलवार फेरी इन्डोसकोपि गरी निकाल्ने तयारी भएको उनले जानकारी दिए।
‘आन्द्रा र पेट दुवैतिर जम्मा भएको हो। सात वटा मेन ब्लक गरेको (दाना) निकालेका छौँ,’डा. खड्काले भने,‘अझैँ १०-१५ वटा बाँकी होला।'
ती पुरुषको आन्द्रा खुम्चिएकाले बेलुन राखेर फुलाई दिएको उनले बताए। ‘आन्द्रा खुम्चिएर नगएकोले खुम्चिएको आन्द्रा पनि बेलुन राखेर खुलाई दिएको छौँ इन्डोस्कोपिबाटै,’उनले भने,‘आन्द्रा खुलाएपछि (दाना) दिसाबाट पनि जान सक्छ, यदि गएन भने भोली फेरी इन्डोस्कोपि गरेर निकाल्दैछौं।’
एकै पटक निकाल्नका लागि लामो समय लाग्ने अनि लामो समय बेहोस बनाउँदा बिरामीका लागि जोखिम हुन सक्ने भएकाले सबै दानाहरू एकै पटक ननिकालिएको डा. खड्काले जानकारी दिए। यी दानाहरू निकाल्न करिब एक घण्टा समय लागेको उनले बताए।
पहिले १-२ पटक वान्ता गर्दा लप्सीको दाना नै निस्किएको र बारम्बार वान्ता भएको बिरामीले सुनाएको डा. खड्काले जानकारी दिए। तर, ती पुरुषमा अन्य स्वास्थ्य समस्या भने नदेखिएको उनले बताए।
‘आन्द्रा थुनिएर बारम्बार उल्टी भएर हाम्रोमा आउनु भएको हो’डा. खड्काले भने।’
साउन ३०, २०८० मंगलबार ००:०१:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।