डा. केसीको अनसन एक महिना पछि सर्यो
काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबारबाट बस्ने भनिएको अनसन एक महिना पछि सारेका छन्।
चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्ति लगायतका माग राखेर सोमबारदेखि अनसन बस्ने घोषणा गरेका उनले सोमबार नै विज्ञप्ति निकालेर २९ भदौबाट अनशन बस्ने घोषणा गरेका हुन्।
सरकारले माग पूरा गर्ने आश्वासन दिएकाले एक महिना अनशन स्थगित गरेको केसीले विज्ञप्तिमा भनेका छन्।
उनले सीटीईभीटीले पछिल्लो समय निजी कलेजको फाइदाका लागि गरेको निर्णय खारेजी र चिकित्सा शिक्षा आयोगमा पदाधिकारी नियुक्तिको माग गर्दै अनशन घोषणा गरेका हुन्।
केसीले पछिल्ला दिनमा नर्सिङ कलेजका विषयमा भ्रम फैलाइएको भन्दै आपत्ति जनाएका छन्। आफूहरूले देशमा सबै तहको स्वास्थ्य र चिकित्सा शिक्षा गुणस्तरीय, निःशुल्क वा सस्तो र सर्वसुलभ रहोस् र आम नेपालीले पाउने स्वास्थ्य सेवाको गुणस्तर बढ्दै जाओस् भन्ने चाहेको उनले प्रष्टीकरण दिएका छन्।
साउन २९, २०८० सोमबार १९:५१:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।